एनआरएनए अमेरिकाजको १०औँ क्षेत्रीय सम्मेलन टोरन्टोमा, १० करोड डलरको लगानी सम्भावनाबारे छलफल हुने
👤 सनस्टार संवाददाता |

**२९ असोज २०८३**
**पोखरा** । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रको १०औँ क्षेत्रीय सम्मेलन सन् २०२७ अप्रिल २४ र २५ मा क्यानडाको टोरन्टोस्थित होटल रेडिसनमा आयोजना हुने भएको छ। ‘समृद्धि : Connecting for Prosperity’ नारासहित आयोजना हुने सम्मेलनमा विदेशमा रहेका नेपालीको पुँजी, ज्ञान, सीप र प्रविधिलाई नेपालको विकाससँग जोड्ने विषयलाई प्राथमिकता दिइनेछ।
क्षेत्रीय संयोजक (आरसी) भुवन खरेलले सम्मेलनमा सहभागी हुन विश्वभरका गैरआवासीय नेपाली अभियन्तालाई निमन्त्रणा गरेका छन्। सम्मेलनमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाललाई समेत आमन्त्रण गरिएको छ।
सम्मेलनमा सरकार र गैरआवासीय नेपाली समुदायबीच प्रत्यक्ष संवाद स्थापित गर्दै करिब १० करोड अमेरिकी डलर बराबरको लगानी सम्भावना, सामूहिक लगानीका परियोजना तथा लगानीमैत्री नीतिबारे छलफल गर्ने तयारी छ।
गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयन र वंशजको नागरिकतासम्बन्धी सरोकार पनि सम्मेलनका प्रमुख एजेन्डा रहनेछन्।
विदेशमा रहेका नेपालीको लगानी नेपालमा भित्र्याउने, कृषि तथा जलविद्युत् क्षेत्रमा लगानी विस्तार गर्ने र सामूहिक उद्यमशीलतालाई प्रोत्साहन गर्ने विषयमा समेत छलफल हुनेछ।
**कृषि र सामूहिक उद्यमशीलतामा जोड**
गैरआवासीय नेपालीको पहलमा गुल्मीको आँपचौरमा सुरु गरिएको कफी खेतीलाई सामूहिक उद्यमशीलताको नमुनाका रूपमा सम्मेलनमा प्रस्तुत गरिने भएको छ। हाल एक हजार रोपनी क्षेत्रफलमा फैलिएको कफी खेतीलाई पाँच हजार रोपनीसम्म विस्तार गर्ने लक्ष्यसहित कृषि क्षेत्रमा थप लगानीका सम्भावना खोजिनेछ।
यसैगरी, विदेशमा जन्मिएका तथा हुर्किएका दोस्रो पुस्ताका नेपालीलाई मातृभूमिको भाषा, संस्कृति र पहिचानसँग जोड्ने विषयलाई पनि सम्मेलनले प्राथमिकता दिनेछ। विदेशमा आर्जन गरिएको ज्ञान, सीप र विज्ञता नेपालको विकासमा हस्तान्तरण गर्ने विषयमा समेत छलफल गरिनेछ।
सम्मेलन व्यवस्थापनबाट बचत हुने रकम एनआरएनए क्यानडाको ‘नेपाली घर’ परियोजनामा लगानी गर्ने प्रस्तावसमेत अघि सारिएको छ।
क्षेत्रीय संयोजक खरेलले क्यानडावासी नेपाली, अमेरिकाज क्षेत्रका अभियन्ता तथा विश्वभर रहेका गैरआवासीय नेपालीलाई सम्मेलनमा सक्रिय सहभागिता जनाएर सफल बनाउन अपिल गरेका छन्।