दुबई–पोखरा–दुबई उडानको समय फेरियो, विन्टर सिजनलाई लक्षित
👤 सनस्टार संवाददाता |

दुबई–पोखरा–दुबई उडानको समय फेरियो, विन्टर सिजनलाई लक्षित
एक महिनामा ६ हजार भन्दा बढि यात्रुको आवतजावत
पोखरा, कात्तिक ७ गते ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको फ्लाई दुबईले एक महिनामै आफ्नो उडान तालिका परिवर्तन गरेको छ । सेप्टेम्बर २३ देखि दुबई–पोखरा–दुबई उडान सञ्चालन गर्दै आएको कम्पनीले अक्टोबर २५ अर्थात् कात्तिक ९ गतेदेखि नयाँ समयतालिका लागू गर्न लागेको हो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी प्रवक्ता जसोदा सुवेदीका अनुसार नयाँ तालिकाअनुसार फ्लाई दुबईको विमान साँझ ७ः३५ बजे पोखरा अवतरण गर्नेछ भने सोही राति ८ः३५ बजे दुबईका लागि प्रस्थान गर्नेछ । यसअघि अक्टोबर २४ सम्म विमान साँझ ६ः१५ बजे पोखरा आइपुग्ने र ७ः१५ बजे दुबई फर्कने तालिका थियो ।
किन परिवर्तन भयो समयतालिका ?
विमानस्थलका प्रवक्ता सुवेदीका अनुसार विन्टर सिजनलाई ध्यानमा राखेर उडानको समयतालिका परिवर्तन गरिएको हो । उनका अनुसार विमान निर्धारित समयभन्दा ढिलो नभई केही समय अगावै पोखरा आइपुग्ने गरेको छ ।
फ्लाई दुबईले पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको पहिलो महिनामा उल्लेख्य यात्रु आवतजावत भएको छ । यस अवधिमा दुबई–पोखरा–दुबई रुटमा ६ हजार ३११ यात्रुले यात्रा गरेको विमानस्थलको विवरण छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएपछि पोखरालाई दुबई हुँदै विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यसँग जोड्ने अवसर विस्तार भएको छ । यसले पोखराको पर्यटन, व्यापार तथा स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ ।