**६ कात्तिक २०८३** पोखरा । विद्यालयका पुराना सम्झना, मित्रताको आत्मीयता र जन्मभूमिप्रतिको दायित्वलाई पुनः ताजा बनाउँदै माछापुच्छ्रे माध्यमिक विद्यालयका पूर्वविद्यार्थीहरू पुनर्मिलनमा जुटेका छन्। पूर्वविद्यार्थी मञ्च माछापुच्छ्रे माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न पुनर्मिलन कार्यक्रमले पुराना सम्बन्धलाई नवीकरण गर्नुका साथै विद्यालय र समाजको विकासमा सामूहिक योगदान गर्नुपर्ने सन्देश दिएको छ। कार्यक्रममा सहभागी पूर्वविद्यार्थीहरूले नेपालीहरूका महान् चाडपर्वको शुभकामना आदानप्रदान गर्दै आपसी सद्भाव, भाइचारा र एकताको भावना साटासाट गरे। विद्यालयमा बिताएका दिनको स्मरणसँगै आफूले शिक्षा पाएको संस्थाप्रति जिम्मेवार बन्नुपर्ने विचारसमेत कार्यक्रममा व्यक्त गरियो। कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य खिमलाल देवकोटा थिए। पूर्वविद्यार्थी मञ्चका अध्यक्ष फडिन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मञ्चका उपाध्यक्ष रमेश भण्डारीले स्वागत मन्तव्य राखेका थिए। महासचिव हरिप्रसाद भण्डारीले कार्यक्रम सञ्चालन गरेका थिए। **अवकाशपछि पनि समाजसेवामै सक्रिय रहने कुँवरको प्रतिबद्धता** कार्यक्रमका विशिष्ट अतिथि नेपाल सरकारका सचिव तथा लुम्बिनी प्रदेशका प्रमुख सचिव विनोद बहादुर कुँवरले सरकारी सेवाबाट अवकाश लिएपछि पनि समाजसेवामा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। माछापुच्छ्रे माध्यमिक विद्यालयका पूर्वविद्यार्थी समेत रहेका कुँवरले आफ्नो जन्मभूमि, विद्यालय र समाजप्रतिको सम्बन्ध जागिरको जिम्मेवारीसँगै समाप्त नहुने बताए। सरकारी सेवामा रहँदा कास्की जिल्ला र अन्नपूर्ण गाउँपालिका भित्र सामाजिक गतिविधि तथा विकास निर्माणका क्षेत्रमा आफूले खेलेको भूमिकाबारे उहाँले चर्चा गर्नुभयो। कुँवरका अनुसार अन्नपूर्ण गाउँपालिकाको विकासका लागि संघीय तथा प्रदेश सरकारबाट विभिन्न विकासका योजनाहरु ल्याउन हरेक वर्ष पहल गर्दै आएको कुरा बताउनु भयो। स्थानीय आवश्यकता अनुसार पूर्वाधार निर्माण र विकासका योजनामा सरकारी स्रोत परिचालन गराउन निरन्तर प्रयास गरेको उनको भनाइ थियो। सरकारी सेवाको अन्तिम चरणमा पुगेका कुँवरले अबको समय र अनुभव समाजको हितमा उपयोग गर्ने बताए। माछापुच्छ्रे माध्यमिक विद्यालयको शैक्षिक उन्नति, अन्नपूर्ण गाउँपालिकाको विकास र समग्र कास्की जिल्लाको समृद्धिमा आगामी दिनमा पनि योगदान गर्ने उनको प्रतिबद्धता थियो। **विद्यालयसँगको नाता, समाजप्रतिको दायित्व** पूर्वविद्यार्थीहरूको पुनर्मिलन पुराना साथीभाइ भेट्ने अवसर मात्रै होइन, आफूले ज्ञान हासिल गरेको विद्यालय र समाजप्रतिको जिम्मेवारी स्मरण गर्ने महत्वपूर्ण अवसर पनि हो। विद्यालयबाट शिक्षा हासिल गरी विभिन्न क्षेत्रमा पुगेका व्यक्तिहरूको अनुभव, सीप, ज्ञान र स्रोतलाई एकीकृत गर्न सके शैक्षिक तथा सामाजिक विकासमा उल्लेखनीय सहयोग पुग्न सक्छ। विद्यालयको प्रगतिमा पूर्वविद्यार्थीको भूमिका महत्वपूर्ण हुने भएकाले यस्ता कार्यक्रमले संस्थागत सम्बन्धलाई बलियो बनाउनुका साथै भावी पुस्ताका लागि सकारात्मक वातावरण निर्माण गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। माछापुच्छ्रे माध्यमिक विद्यालयका पूर्वविद्यार्थीहरूको पुनर्मिलनले पुराना सम्झनालाई वर्तमानको जिम्मेवारीसँग जोड्ने प्रयास गरेको छ। विद्यालयप्रतिको अपनत्व, जन्मभूमिप्रतिको माया र समाजप्रतिको उत्तरदायित्वलाई व्यवहारमा उतार्न सके पुनर्मिलनको सार्थकता अझ बढ्नेछ। कार्यक्रमले एउटा सन्देश दिएको छ—विद्यालयबाट लिएको शिक्षा व्यक्तिगत सफलतामा मात्र सीमित हुनुहुँदैन; त्यसको प्रतिफल समाज र जन्मभूमिको उन्नतिमा पनि देखिनुपर्छ।