पूर्वराष्ट्रपति एवं नेकपा एमालेको वरिष्ठ नेता भण्डारी बिहीबार चीन जाँदै
👤 सनस्टार संवाददाता |

पूर्वराष्ट्रपति एवं नेकपा एमालेको वरिष्ठ नेता भण्डारी बिहीबार चीन जाँदै
४ कात्तिक २०८३
काठमाडौँ — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ग्लोबल गभर्नेन्स फोरम २०२६ मा सहभागी हुन बिहीबार चीन जाने भएकी छन् । हालै नेकपा एमालेको वरिष्ठ नेतामा मनोनीत भएपछि उनको यो पहिलो विदेश भ्रमण हो । उनी हेबेई प्रान्तको सियोङआन नयाँ क्षेत्रमा आयोजना हुने फोरममा सहभागी हुन चीन जान लागेकी हुन् ।
अक्टोबर २३ देखि २५ सम्म आयोजना हुने फोरममा विशिष्ट अतिथिका रूपमा भण्डारीले सम्बोधन गर्ने कार्यक्रम छ । भण्डारीका सहयोगी राजकुमार राईका अनुसार पूर्वराष्ट्रपति भण्डारीका आफन्त कैलाश भण्डारी पनि भ्रमणमा उनीसँगै जानेछन् ।
Chinese People’s Institute of Foreign Affairs (सीपीआईएफए) का अनुसार फोरममा विश्वभरका राजनीतिक, कूटनीतिक, शैक्षिक, व्यावसायिक, सञ्चारमाध्यम तथा युवा क्षेत्रका नेताहरू सहभागी हुनेछन् । ग्लोबल साउथ, युरोप र अमेरिकासहित करिब १०० देशका प्रतिनिधिले सहभागिता जनाउने निश्चित गरिसकेका छन् ।
सीपीआईएफएले आयोजना गर्ने फोरममा बदलिँदो विश्व व्यवस्थाका बीच अन्तर्राष्ट्रिय सहकार्य र विश्वव्यापी शासन प्रणालीमा सुधारका विषयमा छलफल हुनेछ ।
आयोजकका अनुसार छलफलमा एआई, साइबरस्पेस र अन्तरिक्षको शासनसँग सम्बन्धित चुनौती, एआईको सुरक्षित प्रयोग तथा विज्ञान र प्रविधिमा भएका प्रगतिबाट सबै देशले लाभ लिन सक्ने उपायबारे चर्चा हुनेछ ।