पोखराका १३ स्थानमा लिङ्गे पिङ, दसैँको रौनक बढ्दै
👤 सनस्टार संवाददाता |

पोखराका १३ स्थानमा लिङ्गे पिङ, दसैँको रौनक बढ्दै
पोखरा ।
नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा नेपालको पर्यटकीय राजधानी पोखराका विभिन्न १३ स्थानमा लिङ्गे पिङ राखिएको छ। नेपाल पर्यटन बोर्ड र पोखरा उद्योग वाणिज्य संघको सहकार्यमा राखिएका पिङले दसैँको सांस्कृतिक रौनक बढाउनुका साथै मौलिक नेपाली परम्पराको संरक्षण र प्रवर्द्धनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
दसैँमा पिङ खेल्ने परम्परा नेपाली समाजको मौलिक सांस्कृतिक पहिचानका रूपमा रहँदै आएको छ। दसैँको समयमा गाउँघरदेखि सहरसम्म लिङ्गे पिङ खेल्ने चलनले परिवार, साथीभाइ र समुदायबीच भेटघाट, आत्मीयता तथा आपसी सद्भाव बढाउने गर्दछ।
पोखराका विभिन्न टोल तथा बस्तीमा पिङ राखिएसँगै स्थानीय बासिन्दा, बालबालिका, युवा तथा पर्व मनाउन घर फर्किएका नेपालीहरूलाई दसैँको उल्लासमा सहभागी हुने अवसर मिलेको छ। यसले पोखराको सांस्कृतिक वातावरणलाई थप जीवन्त बनाउनुका साथै आन्तरिक पर्यटकलाई समेत आकर्षित गर्न सक्ने अपेक्षा गरिएको छ।
पोखराका १३ स्थानमा लिङ्गे पिङ
नेपाल पर्यटन बोर्ड र पोखरा उद्योग वाणिज्य संघको सहकार्यमा लिङ्गे पिङ राखिएका स्थानहरू यसप्रकार छन् :
१. पर्स्याङ
२. मालेपाटन, बाराही स्कुल
३. खाल्टे मसिना
४. मनकामना टोल
५. छिनेडाँडा, राधाकृष्ण टोल
६. फूलबारी
७. हेम्जा
८. लेकसाइड
९. केदारेश्वर मन्दिर
१०. मुलथोक टोल, लेकसाइड
११. शान्तिवन बाटिका
१२. भण्डारढिक
१३. पटनेरी
दसैँजस्ता चाडपर्वमा मौलिक संस्कृति र परम्पराको संरक्षण गर्नुका साथै नयाँ पुस्तालाई त्यससँग जोड्नु आवश्यक मानिन्छ। पोखराका विभिन्न स्थानमा लिङ्गे पिङ राख्ने पहलले परम्परागत पर्व संस्कृतिलाई निरन्तरता दिन र सामुदायिक सहभागिता बढाउन सहयोग पुग्ने विश्वास गरिएको संघका सदस्य डिल्लिराम सुबेदिले बताए ।
पर्यटकीय सहर पोखरामा चाडपर्वको मौलिकता, स्थानीय संस्कृति र सामुदायिक गतिविधिलाई प्रवर्द्धन गर्न कार्यक्रमले योगदान पुर्याउने अपेक्षा गरिएको समेत उनले बताए ।