फुटेका विचार, जोडिएका आशा: नेपालको कम्युनिस्ट आन्दोलनको चित्र र चरित्र
👤 शिब प्रसाद अधिकारी |

फुटेका विचार, जोडिएका आशा: नेपालको कम्युनिस्ट आन्दोलनको चित्र र चरित्र
नेपालको राजनीतिक इतिहासमा कम्युनिस्ट आन्दोलन केवल एउटा राजनीतिक शक्ति वा सत्ता प्राप्तिको माध्यम मात्र होइन, यो नेपाली समाजको रूपान्तरण, निरङ्कुशता विरुद्धको ऐतिहासिक सङ्घर्ष र सामाजिक न्यायको ठूलो संवाहक पनि हो। वि.सं. २००६ सालमा पुष्पलाल श्रेष्ठको अगुवाइमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएयता नेपाली राजनीतिमा कम्युनिस्टहरूले कहिले हतियारबद्ध विद्रोह, कहिले शान्तिपूर्ण जनआन्दोलन र कहिले संसदीय व्यवस्थाको सफल नेतृत्व गर्दै देशलाई नयाँ दिशा दिएका छन्। सामन्तवादको जग हल्लाउँदै राजतन्त्रको अन्त्य, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, समावेशी संविधान र धर्मनिरपेक्षता जस्ता युगान्तकारी परिवर्तनहरू ल्याउनमा नेपाली कम्युनिस्ट आन्दोलनको भूमिका अतुलनीय छ। तर, यो सात दशक लामो यात्रा केवल सफलता र प्राप्तिको कथा मात्र रहेन; यो वैचारिक विभाजन, शीर्ष नेताहरूको व्यक्तिगत महत्त्वाकाङ्क्षा र निरन्तरको टुटफुटको नमीठो इतिहास पनि बन्यो। फुटेका विचारहरू र फेरि ती फुटका बिचबाट जोडिएका आशा नै नेपाली कम्युनिस्ट आन्दोलनको मुख्य चित्र र चरित्र हुन्।
नेपालमा कम्युनिस्ट आन्दोलनको वैचारिक चित्र नियाल्दा मुख्यतया दुईवटा धाराहरू स्पष्ट रूपमा ठोक्किँदै र जोडिँदै अघि बढेको देखिन्छ। एकतर्फ जननेता मदन भण्डारीद्वारा प्रतिपादित 'जनताको बहुदलीय जनवाद' (जबज) ले मार्क्सवाद-लेनिनवादलाई नेपाली माटोमा सिर्जनात्मक प्रयोग गर्दै शान्तिपूर्ण लोकतान्त्रिक प्रतिस्पर्धा र जनमतका आधारमा समाजवादमा पुग्ने जग हालिदियो। अर्कोतर्फ, १० वर्षे जनयुद्ध र २१ औँ शताब्दीको जनवादी अवधारणाले उत्पीडित वर्ग, जाति, लिङ्ग र समुदायलाई राजनीतिको केन्द्रमा ल्याएर देशमा सङ्घीयता र गणतन्त्रको ढोका खोलिदियो। यसका साथै, उत्तर कोरियाली विचारबाट प्रेरित आत्मनिर्भरताको सोच, नयाँ जनवादी क्रान्तिको अडान, र संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादको खोजी गर्ने साना-ठूला वैचारिक धारहरू पनि क्रियाशील रहे। यी भिन्न-भिन्न सिद्धान्तहरू आपसमा विरोधी नभई बृहत् नेपाली समाजवादका परिपूरक अङ्ग हुन्। जबजको लोकतान्त्रिक सुशासन, जनयुद्धको समावेशी जग, र वैज्ञानिक समाजवादको दूरदृष्टिलाई एकीकृत गर्दै एउटै साझा र गतिशील नीति निर्माण गर्नु आजको वैचारिक आवश्यकता हो।
तर, विचारको एकीकरण मात्रै आजको समस्याको समाधान होइन। पछिल्ला वर्षहरूमा कम्युनिस्ट आन्दोलनभित्र गम्भीर वैचारिक विचलन र आचरणको सङ्कट देखा परेको छ। सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने पार्टी र नेता-कार्यकर्ताहरूमा पुँजीवादी उपभोक्तावाद, तड़कभड़क र अपारदर्शी जीवनशैली हाबी हुँदै गएको छ। सिद्धान्त र व्यवहारबिचको यो दूरीले नै आम जनतामा कम्युनिस्टहरूप्रति निराशा र अविश्वास बढाएको छ। अबको आन्दोलनलाई पुनर्जीवन दिन मार्क्सवादी निष्ठा, सादगी, र जनपक्षीय आचरणको पुनर्जागरण अपरिहार्य भइसकेको छ।
यसका साथै, आजको राजनीतिप्रतिको वितृष्णा हटाउन नीतिगत स्पष्टता र समृद्धिको ठोस मोडल आवश्यक छ। केवल राजनीतिक क्रान्तिले मात्र जनताको पेट भर्दैन। अबको कम्युनिस्ट आन्दोलनले स्वदेशी उत्पादन, उद्यमशीलता, रोजगारी सिर्जना र आत्मनिर्भरतामा आधारित 'समाजवादउन्मुख मिश्रित अर्थतन्त्र' को स्पष्ट खाका कोर्नुपर्छ। प्रविधि, सुशासन, द्रुत आर्थिक विकास र वैश्विक प्रतिस्पर्धाको यो युगमा प्रविधिमैत्री र व्यावहारिक आर्थिक नीति नअपनाएसम्म युवा पलायन र बेरोजगारीजस्ता विकराल समस्याहरूसँग लड्न सकिँदैन।
विचार र नीति जतिसुकै उन्नत भए पनि त्यसलाई हाँक्ने नेतृत्वको सोच र संरचना पुरानै रह्यो भने आन्दोलन अघि बढ्न सक्दैन। आजको अर्को ठूलो सङ्कट नेतृत्व हस्तान्तरण नहुनु र एउटै पुस्ता दशकौँसम्म सत्तामा टाँसिएर रहनु हो। शीर्ष नेताहरूले इतिहासमा आफ्नो महत्त्वपूर्ण योगदान दिइसकेका छन्। उहाँहरूले राजनीतिक रूपान्तरण र संविधान निर्माण जस्ता क्रान्तिको सफल नेतृत्व गरेर आफ्नो भूमिका पूरा गरिसक्नुभएको छ। अब उहाँहरूले राजनीतिबाट शालीन बहिर्गमन (Exiting graciously) रोज्दै अभिभावकीय भूमिकामा बस्नुपर्छ।
यसका लागि पार्टीभित्र बलियो आन्तरिक लोकतन्त्र, पारदर्शी विधि र पद्धति निर्माण हुनुपर्छ। कसैको कृपा वा दयामा होइन, विधि र स्वस्थ आन्तरिक प्रतिस्पर्धाका आधारमा नेतृत्व चुनिनुपर्छ ताकि दोस्रो र तेस्रो पुस्ताका सक्षम, ऊर्जावान् र समयको भाषा बुझ्ने युवाहरू पार्टीको प्रत्यक्ष कार्यकारी नेतृत्वमा आउन सकून्। विचारको परिमार्जन र सुदृढ आन्तरिक लोकतन्त्रमार्फत हुने यो पुस्तान्तरण नै नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनर्जीवन दिने एक मात्र सञ्जीवनी बुटी हो।
नेपालको कम्युनिस्ट आन्दोलन विगतका 'फुटेका विचार' को तितो अनुभवबाट पाठ सिक्दै 'जोडिएका आशा' हरूलाई विश्वासमा बदल्ने निर्णायक मोडमा आइपुगेको छ। अब गठन भएका र हुने एकीकृत वामपन्थी दलहरूले केवल पार्टीको नाम र चुनाव चिह्न जोडेर मात्र पुग्दैन; वैचारिक स्पष्टता, सादा जीवनशैली, आर्थिक समृद्धिको ठोस खाका र युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नु आजको मुख्य समय-सान्दर्भिक माग हो।
पाका नेताहरूको मार्गदर्शन र उर्जाशील युवाहरूको नयाँ नेतृत्वबिच सही तालमेल मिलाउन माथिबाट मात्र होइन, हामीले पनि जराजराबाट—आफ्नो घर, टोल र समाजबाटै रूपान्तरणको सुरुआत गर्नुपर्छ। सुशासन, सामाजिक न्याय र समृद्धिको सपना साकार पार्न सम्भव हाम्रै पालामा छ!
शिव अधिकारी
नेकपा (एमाले), कास्की।