बंगालको खाडीको चक्रवातले नेपालमा वर्षाको जोखिम बढायो, २०० मिलिमिटरसम्म पानी पर्न सक्ने
👤 सनस्टार संवाददाता |

**७ कार्तिक २०८३**
**पोखरा** । बंगालको खाडीमा विकसित भइरहेको चक्रवाती मौसमी प्रणालीको प्रभावले आगामी साता नेपालका केही स्थानमा २०० मिलिमिटरभन्दा बढी वर्षा हुन सक्ने मौसमविद्हरूले चेतावनी दिएका छन्।
मौसमविद् विनोद पोखरेलका अनुसार आगामी बुधबारदेखि आइतबारसम्मको अवधिमा केही स्थानमा उल्लेख्य वर्षा हुन सक्ने सम्भावना छ। यो एकै दिनको नभई उक्त अवधिको कुल वर्षा हुन सक्ने अनुमान हो। वर्षाको मात्रा र प्रभावित क्षेत्र भने मौसम प्रणालीको विकाससँगै परिवर्तन हुन सक्छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा शुक्रबार बिहान विकसित न्यून चापीय क्षेत्र शक्तिशाली बन्दै सोमबारसम्म चक्रवाती आँधीमा परिणत हुन सक्नेछ। उक्त प्रणालीले अक्टोबर २८ देखि नोभेम्बर १ सम्म नेपालमा प्रभाव पार्न सक्ने अनुमान गरिएको छ।
पोखरेलले सन् २०१४ अक्टोबर १४ मा आएको विनाशकारी हिमआँधीसँग अहिलेको मौसमी प्रणालीका केही सूचक मिल्दोजुल्दो देखिएको उल्लेख गरेका छन्। उक्त घटनामा अन्नपूर्ण क्षेत्र आसपासका पदयात्रा मार्गसहित ४३ जनाले ज्यान गुमाएका थिए। यद्यपि, यसपटक पनि त्यस्तै विपद् निम्तिने निश्चित नभएको उनले स्पष्ट पारेका छन्।
सम्भावित प्रतिकूल मौसमले उच्च हिमाली क्षेत्रमा भारी हिमपात, अत्यधिक चिसो र हिमपहिरोको जोखिम बढाउन सक्छ। वर्षाले धान भित्र्याउने काम तथा पर्यटन गतिविधिमा समेत असर पार्न सक्ने भएकाले किसान, पदयात्री र पर्यटन व्यवसायीलाई सतर्क रहन आग्रह गरिएको छ।
विभागले मौसमको पछिल्लो अवस्था र आधिकारिक सूचनामा ध्यान दिन तथा आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ। आगामी एक सातामा देशका विभिन्न भागमा अधिकतम र न्यूनतम तापक्रमसमेत सामान्य घट्न सक्ने अनुमान गरिएको छ।