बालेन सरकार द्वारा लुम्बिनी विकास कोष उपाध्यक्षमा नियुक्त आनीको विरोध
👤 सनस्टार संवाददाता |

बालेन सरकार द्वारा लुम्बिनी विकास कोष उपाध्यक्षमा नियुक्त आनीको विरोध
लुम्बिनी
करिब पाँच महिनादेखि रिक्त लुम्बिनी विकास कोष उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मालाई ३० असोजमा मन्त्रिपरिषद् बैठकले नियुक्त गर्ने निर्णय गरेलगत्तै विरोध सुरु भएको छ । आनीको विगत र व्यक्तिगत विवरणसमेतलाई प्रश्न उठाउँदै नियुक्ति रद्द गर्न बिरोधी पक्षले माग गरेको छ ।
आनीको नियुक्तिको विरोधमा रहेको पक्षले लुम्बिनी बचाउ महाअभियान नै गठन गरेर विरोध गरिरहेको छ । ३१ असोजबाटै विरोधका कार्यक्रम गर्दै आएको अभियानका संयोजक अकरम खानले बताए । नियुक्ति बदर नहुँदासम्म जनस्तरमा सभा, पत्रकार सम्मेलन, विरोध र्याली, धर्ना, घेराउका कार्यक्रम जारी रहने उनले जानकारी दिए । लुम्बिनीका स्थानीयसँगै विभिन्न क्षेत्रका अगुवाले निर्णयको विरोधका साथै निर्णय तत्काल खारेज गर्न मागसमेत गरेका छन् ।
आर्थिक पारदर्शिता नहुनु, सम्पत्ति शुद्धीकरणमा अनुसन्धान र नागरिकताको वैधानिकताबारे सार्वजनिक भएका विषयले आनीको नियुक्ति बदरको माग गरेको उनीहरूको तर्क छ । अभियानले लुम्बिनीको विकास, संरक्षण र प्रवर्द्धनमा योगदान दिन सक्ने स्थानीय बुद्धिजीवी, बौद्ध धर्मका जानकार तथा योग्य व्यक्तित्वलाई नियुक्तिमा बेवास्ता गरिएको आरोपसमेत लगाएको छ ।
शान्तिका अनुयायी, संस्थागत पारदर्शिता र स्थानीय भावनालाई ध्यानमा राखेर उपाध्यक्ष नियुक्ति गर्नुपर्नेमा सरकारले हुकुमी शैलीमा नियुक्ति गरेको भन्दै आफूहरू बाध्य भएर विरोधमा उत्रेको अभियानका सहसंयोजक रामविकास चौधरीले बताए । मन्त्री खडगराज पौडेल (गणेश) सँग पटक–पटक भेटघाट र वार्ता गरेर स्थानीयलाई उपाध्यक्षमा नियुक्ति गर्न माग गर्दै आए पनि आनीको नियुक्ति भएको भन्दै आफूहरू विरोधमा उत्रेको उनको तर्क छ ।
आनीको आत्मकथा ‘फूलको आँखामा’ उनका मातापिता तिब्बती शरणार्थीका रूपमा नेपाल आएको उल्लेख रहेको विषय उठाउँदै अभियानले नागरिकताको वैधानिकतामाथि पनि प्रश्न गरेको छ । नक्कली बुबा खडा गरी किर्ते विवरणका आधारमा वंशजको नागरिकता लिएको आरोपसमेत सार्वजनिक भएको भन्दै अभियानले यस विषयमा स्पष्टता आवश्यक रहेको जनाएको छ ।
आनीविरुद्ध विगतमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि अनुसन्धान गरेकाले उनको नियुक्ति खारेज हुनुपर्ने लुम्बिनी बचाउ महाअभियानको तर्क छ । विभागले २०७५ मा आनीविरुद्ध अनुसन्धान गरेको थियो ।
२५ वैशाख २०७५ मा तत्कालीन मेगा बैंक लिमिटेडको खाता नम्बर ००१००५००३९४२४ मा आएको रकमको स्रोत नखुलेपछि विभागले आनीविरुद्ध अनुसन्धान सुरु गरेको थियो । हङकङबाट १६ लाख ४९ हजार ९ सय ४० अमेरिकी डलर उनको खातामा देखिएको थियो ।
विभाग र राष्ट्र बैंकको वित्तीय जानकारी एकाइले एकै पटक अनुसन्धान गरेका थिए । विदेशबाट रकम भित्र्याउन अनुमति लिनुपर्नेमा कुनै पनि निकायलाई जानकारीसमेत नदिई तत्कालीन विनिमय दरअनुसार करिब २० करोड रुपैयाँ भित्र्याएको र थप १८ करोडभन्दा बढी रुपैयाँ भित्र्याउन खोजेको भन्दै राष्ट्र बैंकले रोकिदिएको थियो ।