भोटेकोसीको बाढीले लुटेको दसैँ : छैन हर्ष र उल्लास । शिबराज सुवेदी ।पोखरा , कार्तिक ३ । देशभर मालश्रीको धुन गुञ्जिरहँदा, नयाँ लुगा र टीका-जमराको रौनक बढिरहँदा त्रिशूली-भोटेकोसी करिडोर र त्यससँग जोडिएका हजारौं परिवारका लागि भने यस वर्षको दसैँ उत्सव बनेर आएको छैन। गत भदौ १० (अगस्ट २६) मा आएको प्रलयकारी भोटेकोसी बाढीले खोसिदिएको घर, परिवार र थातथलोको पीडामा उनीहरूको दसैँ आँसुमै बितिरहेको छ। सरकारी विवरण अनुसार ल्हेन्दे खोला-भोटेकोसी-त्रिशूली प्रणालीमा आएको उक्त बाढी मनसुनी वर्षाका कारण नभई लाङटाङ-लिरुङ हिमालको करिब ५,२०० मिटर उचाइमा रहेको हिमनदी र चट्टानी भूभाग खसेर गएको हिम-चट्टान पहिरोका कारण आएको थियो। बिहान ०८:३७ मा ५.२ म्याग्निच्युडको भूकम्पीय संकेत रेकर्ड भएको र १८८ किमि प्रतिघण्टाको गतिमा बाढी रसुवागढी पुगेको थियो। हजारौ परिवार बाढिमा बालुवा सरि पुरिदा त्यस क्षेत्रमा मात्र हैन पुरै देस नै संकटमा छ । दसैँ आयो, आमा-बुबा , श्रीमान - श्रीमती र छोराछोरी फर्केनन । बाढीको सबैभन्दा मार्मिक पीडा दसैँमा देखिएको छ। बर्दियाको राजापुर नगरपालिका-९ तिनघरवाका पाँच परिवारका लागि यस वर्षको दसैँ खुसीको पर्व बन्न सकेको छैन, किनभने भोटेकोसी बाढीमा उनीहरूका आफन्त बेपत्ता भएका छन्। परिवारले दशैंको रौनकको अभावमा शोक मनाइरहेको र सरकारी सहयोग नपाएको गुनासो गरेका छन्। त्यस्तै बाँके, सल्यान र जुम्लाका दर्जनौं परिवारको अवस्था उस्तै छ। सल्यानको भाल्चौरका ११ जना, कपुरकोट र त्रिवेणीका गरी ३० भन्दा बढी मजदुर टिमुरेमा काम गर्न गएका बेला बेपत्ता भएपछि गाउँमा दसैँको चहलपहल नै छैन। छिमेकीहरूले पनि ऐक्यबद्धता जनाउँदै उत्सव रोकेका छन्। विदुर नगरपालिका-१० बेत्रावतीकी इन्द्रमाया डंगोलको कथा झनै पीडादायी छ। बेत्रावती बजारबाटै ५८ जना बेपत्ता हुँदा उनी अहिले पालमुनि बसिरहेकी छिन्। "जीवित भेटिने आश त नदीसँगै बगिसक्यो, कम्तीमा दाहसंस्कार गर्न श्वास भए पनि भेटिए हुन्थ्यो," उनको भनाइ छ। गोर्खाका आफन्त गुमाएका देबकोट परिवारमा यो पालिको दसै दसा बनेरै गयो ।आफन्त मात्र हैन जिबनको सबैकुरा भोटेकोसीमा बिलय भयो , बाबुराम देबकोटा दुखेसो पोख्छन । होल्डिङ सेन्टरमै दसैँ काठमाडौं उपत्यकामा मात्र करिब ४५० परिवारले होल्डिङ सेन्टरमै दसैँ मनाउनुपरेको छ। तीमध्ये ३५० परिवार भोटेकोसी बाढी पीडित नै हुन्। "जसको दसैंमा जाने घर छैन, न गाउँ जाने बाटो," भन्दै रसुवाको टिमुरेमा जन्मिएका ६६ वर्षीय छवाङ रेन्जेन लामा जस्ता वृद्धहरू स्वयम्भूस्थित मुस्ताङ गुम्बाको शरणमा छन्। "पहिले दसैंमा लामा-गुम्बामा पूजा हुन्थ्यो, छोराछोरी नयाँ लुगामा सजिन्थे। अहिले त अर्काको राहत थापेर बस्नुपरेको छ," उनी भक्कानिन्छन्। पुनर्निर्माणमा सुस्तता, रकम थन्कियो अर्कोतर्फ सरकारले बाढी पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ७५ करोड रुपैयाँ संकलन गरे पनि सो रकम अझै खर्च नभई थन्किएको तथ्य सार्वजनिक भएको छ। राष्ट्रिय योजना आयोगका अनुसार प्रारम्भिक क्षति नै ७९ अर्ब १७ करोड रुपैयाँ बराबर छ, जसमा ७ हजार ३१६ घरपरिवार प्रभावित भएका छन्। सरकारले दसैँको फूलपाती अघि ५० वटा प्रिफ्याब घर बनाएर स्थानान्तरण गर्ने घोषणा गरे पनि अधिकांश पीडित अझै त्रिपालमै छन्। उनीहरूका लागि नयाँ लुगा होइन, बेपत्ता आफन्तको शव र सुरक्षित बास नै यस दसैँको सबैभन्दा ठूलो चाहना बनेको छ।आशा र आशुको थोपा संगै निस्तो गाँस खानुपरेको पिडितको दुखेसो छ ।