माघ ५ देखि ‘२६ औँ आहा ! रारा पोखरा गोल्डकप’ हुने पोखरा, ७ कार्तिक । ‘आहा रारा पोखरा गोल्डकप’को २६औँ संस्करण आगामी २०८३ साल माघ ५ देखि १६ गतेसम्म सञ्चालन हुने भएको छ। प्रतियोगिता हिम श्री फुड्स प्रा. लि.को उत्पादन ‘आहा रारा’ तयारी चाउचाउको मुख्य प्रायोजन र पोखरा महानगरपालिकाको संरक्षकत्वमा सञ्चालन हुन लागेको हो। प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद, गण्डकी प्रदेश खेलकुद परिषद, अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल पर्यटन बोर्ड, कास्की जिल्ला खेलकुद विकास समिति, कास्की जिल्ला फुटबल संघ लगायत विभिन्न संघ-संस्था, बैंक तथा विदेशी शाखाहरू (सहारा युके, हङकङ, अष्ट्रेलिया) र समाजसेवीहरूले सहयोग गर्नेछन्। पोखरामा फुटबलको विकास, खेलकुदको प्रवर्द्धन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेपाली फुटबलको पहिचान अभिवृद्धि गर्ने उद्देश्यले आयोजना हुँदै आएको यस प्रतियोगिताले पोखरालाई खेलकुद पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न ठूलो योगदान पुर्‍याएको क्लबले जनाएको छ। आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुने टिमहरू, खेल तालिका, पुरस्कार राशि तथा अन्य आवश्यक विवरणहरू पछि समयमै सार्वजनिक गरिनेछ। प्रतियोगितालाई सफल र व्यवस्थित बनाउन सहारा क्लबले आवश्यक तयारी अघि बढाएको छ। विगतमा सहयोग पुर्‍याउने मुख्य प्रायोजक, सहयोगी संघ-संस्था, सञ्चारकर्मी, दर्शक तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै आयोजक क्लबले आगामी संस्करणलाई पनि भव्य रूपमा सफल बनाउन सबैको सहयोग, सद्भाव र सहभागिताका लागि हार्दिक अनुरोध गरेको छ।