मुख्य समाचार

एमाले केन्द्रीय कमिटी बैठकः केन्द्रीय सदस्यलाई सुझाव दिन ३ मिनेट समयसीमा |

👤 सनस्टार संवाददाता  |  📅 2026-09-22
एमाले केन्द्रीय कमिटी बैठकः केन्द्रीय सदस्यलाई सुझाव दिन ३ मिनेट समयसीमा |
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठक आज पनि जारी रहनेछ । बैठक बिहान नौ बजेबाट सुरु हुँदैछ । पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार रामवाग पार्टी प्यालेसमा भइरहेको बैठकमा केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्ने छन् । केन्द्रीय सदस्यलाई तीन मिनेटमा पार्टी, अध्यक्षको प्रतिवेदन, जनतासँग सम्बन्ध र समसामयिक विषयमा धारणा राख्ने गरी समय व्यवस्थापन गरिएको छ । अध्यक्ष केपी शर्मा ओलीले हिजो बैठकमा जानकारी गराएका नौ वटा एजेण्डामध्ये आठवटाको कारबाही आजबाट सुरु हुने छ । आजै केन्द्रीय कमिटीमा सदस्यहरुको मनोनयन, विभाग गठन, पोलिटव्यूरो, स्थायी कमिटी गठनका एजेण्डा पनि अघि बढाइने छ । यसैगरी, सल्लाहकार परिषद, ज्येष्ठ कम्युनिष्ट मञ्च, अनुशासनका सम्बन्धमा बैठकले दृष्टिकोण बनाउने बताइएको छ । बैठकमा केन्द्रीय सदस्यहरुको मनोनयनपछि बैठकमा धारणा राख्ने क्रम सुरु हुने छ । पोलिटव्यूरो, स्थायी कमिटी लगायतका नेताहरुको जिम्मेवारी बाँडफाँड भोलि गर्ने तयारी रहेको एक पदाधिकारीले जानकारी दिए । हिजो सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।