एमाले पुनर्गठन मुद्दामा विष्णु ‘युर्टन
👤 सनस्टार संवाददाता | 📅 2026-09-23

एमाले पुनर्गठन मुद्दामा विष्णु ‘युर्टन
काठमाडौं ।
नेकपा एमालेको सोमबारदेखि जारी केन्द्रीय कमिटी बैठकमा यसअघि पार्टी पुनर्गठनको मुद्दामा एकै ठाउँ उभिएका उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलको कित्ता छुट्टिएको छ।
केन्द्रीय कमिटी बैठकको दोस्रो दिनको बैठकमा विशेष समय लिएर उपाध्यक्ष पौडेल र महासचिव शंकर पोखरेलले बोलेका थिए।
पौडेलले झण्डै आधा घण्टा र पोखरेलले ४० मिनेट समय लिएर पार्टीको अहिलेको अवस्था, जनताको चाहना र नेता–कार्यकर्ताको भावनासहित नेतृत्व विकासबारे आफ्नो धारणा राखेका थिए।
‘बैठकमा महासचिव पोखरेलले नेकपा एमाले कमजोरी स्वीकार्ने पार्टीका रूपमा सामर्थ्य राख्छ। अध्यक्षले त्यो विषय आफ्नो डकुमेन्टमा पनि उल्लेख गर्नुभएको छ, यो अत्यन्त सकारात्मक छ’, बैठकमा महासचिव पोखरेलले राखेको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘तर भनाइ र गराइमा एकरूपता भएन भने त्यसको कुनै अर्थ रहँदैन।’
महासचिव पोखरेलले जनताले स्वीकार्ने अवस्था नआएसम्म नेताहरू जति मिले पनि अर्थ नराख्ने बताएका छन्।
‘हामी जति मिले पनि जनताले स्वीकार्ने अवस्थामा रूपान्तरण गर्न सकिएन भने त्यसको औचित्य रहँदैन’, पोखरेलले बैठकमा भने, ‘पार्टी व्यवहारमै मिलेको सन्देश जान सक्नुपर्छ।’
त्यसक्रममा पोखरेलले प्रतिवेदनको १७ नम्बर बुँदामा आफूले राखेको विमतिलाई लिएर अध्यक्षले आफ्नो विपक्षमा लागेको भनेर बुझेको भन्दै त्यो बुझाइ गलत भएको बताए।
‘मैले १७ नम्बर बुँदामा विमति राख्दा अध्यक्षज्यूले अध्यक्ष हट्नुपर्छ भन्यो भन्ने बुझ्नुभयो, तर यथार्थ त्यस्तो होइन’, पोखरेलको भनाइ थियो।
उनले नेताहरू मिल्दा सिद्धान्त केही नचाहिने, नमिल्दा मात्र सिद्धान्तको कुरा गर्नुपनि उचित नहुने धारणा राखेका थिए।
‘सिद्धान्त मिलेर मात्र पनि हुँदैन, व्यवहार पनि मिल्नुपर्छ’, पोखरेलको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘राजनीतिक, वैचारिक, सांगठनिक र नेतृत्वको कार्यशैलीमा स्पष्ट र सपाट हुन जरुरी छ।’
नेता पोखरेलले कार्यदलले प्रतिवेदन बनाउन ढिलाइ गरेको स्वीकार गर्दै ढिलाइ नै भए पनि अध्यक्षले आफ्नो प्रतिवेदनमा कार्यदलको प्रतिवेदनका महत्त्वपूर्ण सुझावलाई नसमेटेकोमा आपत्ति जनाए।
‘कार्यदलको प्रतिवेदन पार्टीको सम्पत्ति हो, त्यो प्रतिवेदन कार्यान्वयन गर्नुको विकल्प छैन, त्यो तत्कालै सम्भव नहोला तर क्रमशः त्यसको कार्यान्वयन नै पार्टीको हितमा हुन्छ’, पोखरेलको भनाइ थियो।
त्यसक्रममा उनले व्यक्तिगत रूपमा आफू अध्यक्षलाई कुनै अभियोग वा आक्षेप लगाउने पक्षमा नभएको बताए।
‘सँगसँगै बसेर काम गरिरहँदा अध्यक्ष कमरेडलाई अभियोग लगाउने काम मबाट हुँदैन र पार्टीमा असमझदारी र विग्रह आउने गरी मैले विशेष महाधिवेशन आयोजनाको नेतृत्व गर्दिनँ’, पोखरेलले भने, ‘तपाईंको असहमतिमा म पार्टीको अध्यक्ष बन्दिनँ र अध्यक्षसँग मेरो असहमति पनि छैन।’
तर उपाध्यक्ष विष्णु पौडेलले भने अध्यक्ष ओलीको बचाउ गरेका थिए। उनले नेतृत्वको आलोचना गरेर पार्टी एकताबद्ध हुन नसक्ने भन्दै कार्यदलले ठूलै मिहिनेत गरेर प्रतिवेदन तयार गरेको बैठकमा जानकारी गराएका थिए।
‘कार्यदल गठनमै सुरुमा धेरै विमति थियो, तर प्रतिवेदन तयार गर्ने बेलामा धेरै कुरामा सहमति बन्यो’, पौडेलले बैठकमा भने, ‘तर प्रतिवेदन बनेपछि पक्ष–विपक्ष देखियो, त्यो राम्रो होइन।’
उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको कार्यदलले थापा, महासचिव पोखरेल र नेता प्रदीप ज्ञवालीको मस्यौदा प्रतिवेदनसमेत समेटेर २९ पेजको प्रतिवेदन बनाएको थियो। तर उक्त प्रतिवेदनमा पार्टी पुनर्गठन र नेतृत्व हटाउने विषय समेटिएको थिएन।
पोखरेलले तयार गरेको मस्यौदामा भने एमाले नेता–कार्यकर्ताको सुझावका आधारमा पार्टी पुनर्गठन गर्न नेतृत्वले मार्गप्रशस्त गर्नुपर्ने सुझाव समेटिएको थियो।