एमालेमा नेतृत्व परिवर्तनको प्रस्ताव अस्वीकार गर्दै ज्ञवालीको नयाँ प्रतिवेदन |
👤 सनस्टार संवाददाता | 📅 2026-09-20

एमालेमा नेतृत्व परिवर्तनको प्रस्ताव अस्वीकार गर्दै ज्ञवालीको नयाँ प्रतिवेदन
काठमाडौं, असोज ४ ।
नेकपा एमालेको पार्टी पुनर्गठनसम्बन्धी विवादबीच नेता प्रदीप ज्ञवालीले २९ पृष्ठको नयाँ प्रतिवेदन तयार पार्नुभएको छ ।
अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा तयार पारिएको प्रतिवेदनमा महासचिव शंकर पोखरेलले अघि सार्नुभएको नेतृत्व परिवर्तनसम्बन्धी प्रस्ताव समेटिएको छैन । ज्ञवालीले निर्वाचनमा भएको पराजयलाई कुनै एक व्यक्तिको कमजोरीका कारण मात्र भएको मान्न नहुने निष्कर्ष प्रस्तुत गर्नुभएको छ ।
यसअघि महासचिव पोखरेलले तयार पार्नुभएको प्रतिवेदनमा निर्वाचन पराजयको नैतिक जिम्मेवारी लिँदै अध्यक्ष ओलीले नेतृत्वबाट मार्गप्रशस्त गर्नुपर्ने प्रस्ताव राख्नुभएको थियो । त्यसपछि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले पनि छुट्टै प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
दुवै प्रतिवेदनमा सहमति जुट्न नसकेपछि ज्ञवालीलाई दस्तावेजहरू समायोजन गरी नयाँ प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको थियो ।
ज्ञवालीको प्रतिवेदनमा ओली नेतृत्वमा एमालेले गरेका कामको चर्चा गर्दै निर्वाचनमा पार्टी पराजित हुनुको कारण बहुआयामिक रहेको उल्लेख गरिएको छ । उहाँले जेनजी आन्दोलन, भूराजनीतिक चलखेल, डिजिटल एल्गोरिदम, राजनीतिक अस्थिरता र युवा पुस्ता पार्टीबाट टाढिनुलगायत विषयलाई निर्वाचन पराजयका कारणका रूपमा उल्लेख गर्नुभएको छ ।
पार्टी नेतृत्वको विषयमा प्रश्न उठेको स्वीकार गर्दै ज्ञवालीले त्यसको समाधान महाधिवेशनको लोकतान्त्रिक प्रक्रियाबाट भइसकेको तर्क गर्नुभएको छ । निर्वाचन परिणामका आधारमा तत्काल नेतृत्व परिवर्तन गर्न नहुने उहाँको निष्कर्ष छ ।
एमाले निर्वाचनमा पराजित भए पनि समाप्त नभएको उल्लेख गर्दै ज्ञवालीले वैचारिक तथा राजनीतिक प्रशिक्षण, सांगठनिक सुधार र एकताबद्ध प्रयासबाट पार्टीलाई पुनःस्थापित गर्न सकिने बताउनुभएको छ ।
यद्यपि, ज्ञवाली पुनर्गठन कार्यदलका सदस्य नरहेकाले उहाँले तयार पार्नुभएको प्रतिवेदनलाई कार्यदलको आधिकारिक दस्तावेजका रूपमा स्वीकार गर्ने विषयमा पनि प्रश्न उठेको छ । पुनर्गठनको पक्षमा रहेका केही कार्यदल सदस्यहरूले प्रतिवेदन तयार पारिएको प्रक्रिया र वैधानिकतामाथि आपत्ति जनाएका छन् ।
यस विषयमा छलफल गर्न एमाले पुनर्गठन कार्यदलको बैठक आइतबार बिहान बोलाइएको छ । त्यसपछि केन्द्रीय कमिटी बैठकमा प्रतिवेदनमाथि छलफल गर्ने तयारी गरिएको छ ।