कश्यप गोत्रीय ‘अल्ना’ अधिकारी वंशको ऐतिहासिक पारिवारिक स्मारिका तथा वंशावली विमोचन
👤 प्रदेश संवाददाता | 📅 2026-09-20

पोखरा । असोज ३, २०८३
कास्कीको अन्नपूर्ण गाउँपालिका–१ स्थित अधिकारीडाँडा (साहुथर) मा कश्यप गोत्रीय ‘अल्ना’ अधिकारी वंश समाजको आयोजनामा ‘ऐतिहासिक पारिवारिक स्मारिका एवम् वंशावली’ प्रथम संस्करण २०८३ विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिका–१ का अध्यक्ष तुलसीप्रसाद अधिकारीले समारोहको उद्घाटन गर्नुभएको थियो। सोही अवसरमा समाजका ज्येष्ठ सदस्य ९९ वर्षीय होमनाथ अधिकारी लगायत ज्येष्ठ सदस्यहरूले संयुक्त रूपमा स्मारिका तथा वंशावलीको लोकार्पण गर्नुभएको थियो।
कार्यक्रम लोकार्पण समारोहका संयोजक पुष्पराज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने समाजका अध्यक्ष शिवप्रसाद अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। समाजका उपाध्यक्ष तारापति अधिकारीले उपस्थित अतिथि, ज्येष्ठ सदस्य, समाजका सदस्य तथा सहभागीहरूलाई स्वागत मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो।
समारोहमा समाजका ज्येष्ठ नागरिक तथा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। बाबुहरूतर्फबाट होमनाथ अधिकारी, हरिप्रसाद अधिकारी, तुलसीप्रसाद अधिकारी, सोमकान्त अधिकारी र बाबुराम अधिकारी सम्मानित हुनुभएको थियो।
त्यसैगरी आमाहरूतर्फबाट रमा अधिकारी, डिलमाया अधिकारी, टीका अधिकारी, रेखा अधिकारी र पवित्रा अधिकारीलाई सम्मान गरिएको थियो।
छोरा–बुहारी तथा युवा पुस्तातर्फ आ–आफ्नो क्षेत्रमा विशिष्ट योगदान पुर्याएबापत डा. दिपेन्द्र, सन्जु, आशिष, इन्जिनियर ऋषिराज अधिकारी र अधिवक्ता प्रदीप अधिकारीलाई विशेष सम्मान प्रदान गरिएको थियो।
सम्मानित व्यक्तित्वहरूको तर्फबाट पवित्रा अधिकारी र तुलसीप्रसाद अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्दै वंशावली प्रकाशनले परिवार, समाज र भावी पुस्ताबीचको सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने धारणा राख्नुभयो।
कार्यक्रममा अधिकारी समाज कास्कीका महासचिव हरिचन्द अधिकारी, परशु विद्यालयका प्रधानाध्यापक हरि प्रसाद भुगाई, कश्यप गोत्रीय अधिकारीका भान्जा गङ्गाधर दवाडी, मोहन अधिकारी तथा प्रेमराज अधिकारीलगायतले मन्तव्य व्यक्त गर्दै अधिकारी वंश समाजले ऐतिहासिक तथा पारिवारिक अभिलेख संरक्षणका लागि गरेको प्रयासको प्रशंसा गर्नुभयो।
वंशावली प्रकाशन भएको अवसरमा बसना अधिकारी लगायतको सांस्कृतिक टोलीले विशेष सांगीतिक प्रस्तुतिसमेत दिएको थियो। सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप उल्लासमय र मनोरञ्जनात्मक बनाएको थियो।
समारोहका संयोजक पुष्पराज अधिकारीले ऐतिहासिक पारिवारिक स्मारिका तथा वंशावली प्रकाशन र कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति, परिवार तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभएको थियो।
वंशावली तथा स्मारिकाको प्रकाशनले कश्यप गोत्रीय ‘अल्ना’ अधिकारी वंशको पारिवारिक इतिहास, पुर्खाको योगदान र पुस्तान्तरण हुँदै आएको सामाजिक तथा सांस्कृतिक पहिचानलाई अभिलेखीकरण गर्न महत्वपूर्ण आधार तयार गरेको आयोजकले जनाएको छ।