केन्द्रीय कमिटी बैठक आजै सक्ने एमालेको तयारी
👤 सनस्टार संवाददाता | 📅 2026-09-24

केन्द्रीय कमिटी बैठक आजै सक्ने एमालेको तयारी
२०८३ असोज ८ बिहिबार
काठमाडौं ।
नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । केन्द्रीय कमिटी बैठक जारी रहेकै बेला बिहान १० बजे पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बोलाइएको हो ।
एमाले केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार सचिवालय बैठकपछि मध्याह्न साढे १२ बजे केन्द्रीय कमिटी बैठक बस्नेछ । सोमबारदेखि जारी केन्द्रीय कमिटी बैठक आजै सक्ने एमालेको तयारी छ ।
सचिवालय बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि आएका सुझाव समेट्ने तथा केन्द्रीय कमिटीमा मनोनीत गर्ने व्यक्तिबारे छलफल हुनेछ । यस्तै, स्थायी कमिटी र पोलिटब्युरो गठनबारे पनि छलफल हुने बताइएको छ ।
सचिवालयको छलफलपछि स्थायी कमिटी र पोलिटब्युरो गठनबारे केन्द्रीय कमिटी बैठकबाटै घोषणा गर्ने तयारी छ।