मुख्य समाचार

घान्द्रुक–छोम्रोङ–उल्लेरी सडक पुनर्निर्माण ७५ प्रतिशत काम सम्पन्न।

👤 सनस्टार संवाददाता  |  📅 2026-09-16
घान्द्रुक–छोम्रोङ–उल्लेरी सडक पुनर्निर्माण ७५ प्रतिशत काम  सम्पन्न।
पोखरा । घान्द्रुक–छोम्रोङ–उल्लेरी सडकखण्डमा बाढी तथा खोलाको कटानबाट क्षतिग्रस्त सडक पुनर्निर्माणको काम तीव्र गतिमा अघि बढेको छ। साँझ ५ः३० बजेसम्म करिब ७५ प्रतिशत पुनर्निर्माणको काम सम्पन्न भइसकेको र बाँकी काम पनि छिट्टै पूरा गरी यातायात सञ्चालनमा ल्याउने तयारी गरिएको छ। अन्नपूर्ण गाउँ पालिकाका प्रवक्ता भरतमान गुरुङका अनुसार सडक पुनर्निर्माणको काम निर्धारित गतिमा अघि बढिरहेको छ। उहाँका अनुसार बाँकी काम सम्पन्न भएपछि असोज ४ गते वा ५ गतेदेखि सडक सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। बाढी र खोलाको कटानका कारण सडकमा क्षति पुगेपछि यातायात अवरुद्ध हुँदा स्थानीय बासिन्दा, पर्यटक तथा व्यवसायीहरू प्रभावित भएका थिए। सडक पुनर्निर्माणको काम पूरा भएसँगै यस क्षेत्रको आवागमन सहज हुने अपेक्षा गरिएको छ। सडक पुनर्निर्माणसँगै खोला नियन्त्रण तथा क्षतिग्रस्त संरचनाको संरक्षणमा स्थानीय समुदाय, विभिन्न संघ–संस्था, टोल विकास संस्था तथा आमा समूहलगायतको सहयोग महत्वपूर्ण रहेको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताउनुभयो। स्थानीय तहको प्रयाससँगै नेपाली सेना, विभिन्न संघ संस्था, तथा आमा समूहलगायत स्थानीय समुदायबाट प्राप्त सहयोग र सक्रियताकै कारण खोलालाई नियन्त्रण गर्दै सडक पुनर्निर्माणको काम अघि बढाउन सम्भव भएको हो,अध्यक्ष केसीले बताउनुभयो। सडक सञ्चालनमा आएपछि घान्द्रुक, छोम्रोङ र उल्लेरीलगायत क्षेत्रमा आवतजावत गर्ने स्थानीय तथा पर्यटकलाई प्रत्यक्ष राहत पुग्नेछ। साथै पर्यटन व्यवसायमा समेत सकारात्मक प्रभाव पर्ने स्थानीयको अपेक्षा छ। अन्नपूर्णका प्रबक्ता एवं वडा नं ७ का अध्यक्ष भरतमान गुरुङका अनुसार बाँकी निर्माण कार्यलाई तीव्रता दिँदै तोकिएको समयमै सडक सञ्चालनमा ल्याउने तयारी रहेको जानकारी दिनुभएको छ।।