चुनावमा हारको जिम्मेवारी लिँदै ओलीले भने– रोग देखेपछि चिकित्सकले अस्पताल छोड्दैन |
👤 सनस्टार संवाददाता | 📅 2026-09-21

चुनावमा हारको जिम्मेवारी लिँदै ओलीले भने– रोग देखेपछि चिकित्सकले अस्पताल छोड्दैन
२o८३ असोज ५ सोमबार
नेकपा एमालेका अध्यक्ष केपी ओलीले गत फागुनको निर्वाचनमा भएको हारको नैतिक जिम्मेवारी लिँदै कार्यकर्ताको मनोबल उठाएर सुरक्षित भविष्यको बाटो बनाउने बताएका छन्। सोमबार केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै ओलीले नेतृत्व नछाड्ने स्पष्ट सन्देश दिएका हुन्।
प्रतिवेदनमा भनिएको छ, ‘चुनावी परिणामको जिम्मेवारीबाट म भाग्दिनँ। अध्यक्षको रूपमा मेरो नैतिक जवाफदेही म स्वीकार गर्छु।’ तर, सरकारमा रहँदा पार्टीले गरेका कामलगायतका विषय जनतासम्म नपुग्नुमा आफू मात्र जिम्मेवार नरहेको उनको आशय छ।
‘शासनमा रहँदा जनताको दैनिक जीवनमा हामीले पर्याप्त रूपमा सकारात्मक प्रभाव पारेका छौँ भन्ने अनुभूति किन दिन सकेनौँ? युवाको बेचैनीलाई हामीले सुन्ने र सम्बोधन गर्ने प्रयास गरेका छौँ भन्ने अनुभूति हामीले किन दिन सकेनौँ?... यी प्रश्नहरूबाट हामी भाग्नु हुँदैन। यी प्रश्नहरू मेरा हुन्, नेतृत्वका पनि हुन्, पार्टीका पनि हुन्,’ ओलीले भनेका छन्।
नेतृत्वले गल्ती भए स्वीकार गर्दै सत्यको सामना गर्नुपर्ने प्रस्ट पार्दै अध्यक्ष ओलीले कार्यकर्ताको मनोबल उठाएर जनताको घरमा फेरि फर्कने र सुरक्षित भविष्यको बाटो बनाउनुपर्नेमा जोड दिएका छन्।
उनले प्रतिवेदनमा भनेका छन्, ‘जिम्मेवारी स्वीकार गर्नु र मैदान छोड्नु एउटै कुरा होइन। जिम्मेवारी स्वीकार गर्नु भनेको घाइते शरीर छोडेर भाग्नु होइन, उपचारको अगुवाइ गर्नु हो। चिकित्सकले रोग देखेपछि अस्पताल छोड्दैन। किसानले बालीमा रोग लागेपछि खेत छोड्दैन। नेतृत्वले पनि संकटको वेला संगठनलाई अनिश्चिततामा छोड्दैन।’