मुख्य समाचार

देउवा पक्षले गण्डकीका ७ जिल्लामा तोक्यो संयोजक

👤 सनस्टार संवाददाता  |  📅 2026-09-21
देउवा पक्षले गण्डकीका ७ जिल्लामा तोक्यो संयोजक
पोखरा । नेपाली कांग्रेसको संस्थापनइतर पक्ष जिल्लामा सक्रिय भएको छ । गण्डकीको बागलुङबाहेक सबै जिल्ला सभापति गगन थापा अर्थात संस्थापन पक्षमा खुलेका छन् । यसअघि विशेष महाधिवेशनमा आधाआधा भएको थियो । विशेषगरी बागलुङ, स्याङ्जा र मनाङलगायत जिल्लाले विशेष महाविधेशनमा असहमति जनाएका थिए । लमजुङ, तनहुँलगायत जिल्ला तटस्थ बसेका थिए । बाँकी जिल्ला महाधिवेशनमै सहभागी भएको थियो । संस्थापन पक्ष महाधिवेशन तालिकाअनुसार वडा अधिवेशन सक्ने चरणमा पुगिसक्दा इतर पक्ष बल्ल जिल्लामा संयोजक तोक्ने काममा व्यस्त छ । गण्डकी प्रदेशका अधिकांश जिल्लामा संयोजकहरू तोकिएका छन् । ११ जिल्ला रहेको यहाँ ७ जिल्लामा संयोजक तोकिएको छ । सोमबार कास्कीको संयोजकमा ऋषिराम काफ्ले चयन भए । उनको संयोजकत्वमा २८ सदस्यीय जिल्ला कार्यसमिति नै चयन भएको छ । यस्तै, क्षेत्रीय सभापति, पालिका सभापतिहरु पनि चयन भएका छन् । यसअघि पर्वतको संयोजकमा यामबहादुर मल्ल (रामकृष्ण), गोरखामा भूगोल थापा चयन भएका छन् । लमजुङमा रामकृष्ण कँडेल, नवलपुरमा अशोक बस्ताकोटी चयन भए । म्याग्दीमा हिरा गौचनलाई संयोजक तोक्दा बागलुङको जिम्मा सागर छन्त्यालले पाएका छन् । तनहुँ र स्याङ्जामा भने आकांक्षी धेरै भएकाले इतर समूहलाई संयोजक छान्न सकस परेको प्रदेश उपसभापति मेखलाल श्रेष्ठले जानकारी दिए । ‘धेरै साथीहरू हुनुहुन्छ । धेरैको चाहना भएकोले दुई जिल्ला मिलाउन सकिएको छैन,’ उनले भने, ‘केही दिनमै यो पनि टुंगिन्छ ।’ उनले धेरै भएको भने पनि हेभिवेट नेताहरू भने सबैजसो संस्थापन पक्षमा खुलेका छन् । मनाङ र मुस्ताङमा भने संयोजक पाउनै मुस्किल परेको छ । इतर समूहले जिल्लाहरूमा पार्टी संस्थापन पक्षबाट पाखा लगाइएका नेताहरुलाई सम्हालेर आफ्नो सञ्जाल विस्तारको तयारी गरेको छ । १० गते हुने क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा नपरेर असन्तुष्ट भएकाहरुलाई देउवा पक्षले भित्र्याउने रणनीति बनाएको हो । ‘हिजो अस्ति जिल्लामा रोकिएका साथीहरू अहिले सम्पर्कमा आइसकेका छन्,’ देउवा पक्षका एक नेता भन्छन्, ‘क्षेत्रीय प्रतिनिधिमा नपरेका साथीहरू पनि यतै आउने सम्भावना छ । त्यसपछि हाम्रो समिति पनि पूरा हुन्छ, क्षेत्रीय प्रतिनिधि र महाधिवेशन प्रतिनिधि पनि पर्याप्त हुन्छन् ।’