मुख्य समाचार

नीति नबदलि नेता परिबर्तन गर्नुको अर्थ छैन |

👤 बिष्णु पुन  |  📅 2026-09-18
नीति नबदलि नेता परिबर्तन गर्नुको अर्थ छैन |
नीति नबदलि नेता परिबर्तन गर्नुको अर्थ छैन | बिष्णु पुन पोखरा २०८३ असोज २ । नेकपा एमालेको आन्तरिक पुनर्गठन र आगामी कार्यदिशाबारे बहस भइरहेका बेला नेपाल खेलकुद महासंघका सचिव विष्णु पुनले पार्टी पुनर्गठनलाई नेतृत्व परिवर्तनमा मात्र सीमित नगरी नीति, संगठनात्मक संरचना र कार्यशैलीमा समेत सुधार गर्नुपर्ने बताएका छन्। पुनले पार्टीको पुनर्गठन प्रक्रिया अघि बढाउँदा पहिले मूल नीति र त्यसपछि संगठनात्मक संरचनाबारे छलफल गर्नुपर्ने धारणा राखेका छन्। ‘एमालेलाई पुनर्गठन गर्ने हो भने नेतृत्व परिवर्तनलाई मात्र केन्द्रमा राखेर हुँदैन। पार्टीको मूल नीति, संगठनात्मक संरचना र कार्यशैलीबारे स्पष्ट समीक्षा आवश्यक छ,’ पुनले भने। आफू विद्यार्थी अवस्थादेखि सामाजिक न्याय र स्वतन्त्रताको विषयलाई आधार बनाएर कम्युनिस्ट आन्दोलनमा सहभागी भएको | आफु जस्तै हजारौं कार्यक्रताहरुले नेपालको कम्युनिस्ट आन्दोलनको लागि आफ्नो जीबन र जवानिको महत्वपूर्ण समय , रगत र पसिना बगाएको उल्लेख गर्दै पुनले व्यक्तिगत राजनीतिक अवसरभन्दा जनताको जीवनमा परिवर्तन ल्याउने विषयलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। ‘राजनीतिमा लाग्नुको मेरो मुख्य उद्देश्य व्यक्तिगत पद वा अवसर प्राप्त गर्नु होइन। जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने राजनीतिक उद्देश्य महत्वपूर्ण हो,’ उनले भने। पुनले एमालेभित्रको पुनर्गठनसम्बन्धी बहसमा मूल नेतृत्वको भूमिकासहित पार्टीको नीति र संगठनात्मक संरचनाबारे खुला छलफल आवश्यक रहेको बताए। नेतृत्व परिवर्तन मात्रले पार्टीका सबै समस्या समाधान नहुने उनको भनाइ छ। ‘नीति र कार्यदिशाबारे स्पष्ट निर्णय नगरी नेतृत्व परिवर्तनमा मात्र केन्द्रित हुँदा अपेक्षित परिणाम प्राप्त नहुन सक्छ। त्यसैले पुनर्गठनको बहसलाई नीति, संगठन र कार्यकर्ताको भूमिकासँग जोड्नुपर्छ,’ उनले भने। पुनले पार्टीको आन्तरिक जीवनमा सुधार गर्नुपर्ने भन्दै केही विषयसमेत औँल्याएका छन्। उनले कार्यकर्ताको योगदानको मूल्यांकन, कमिटीको आकार, आलोचना तथा आत्मालोचनाको अभ्यास र पार्टीको निर्णय प्रक्रियामा जनप्रतिनिधिको भूमिकाबारे समीक्षा आवश्यक रहेको बताए। ‘पार्टीभित्र त्याग, समर्पण र योगदानको उचित मूल्यांकन हुने व्यवस्था आवश्यक छ। कमिटीको आकारलाई व्यवस्थित गर्ने, आलोचना र आत्मालोचनाको अभ्यासलाई प्रभावकारी बनाउने तथा निर्णय प्रक्रियालाई थप संस्थागत गर्ने विषयमा पनि छलफल हुनुपर्छ,’ पुनले भने। उनले नयाँ पुस्ता र फ्रेस कार्यकर्ताको सहभागितामा पार्टीको नीति तथा संगठनात्मक संरचनाबारे छलफल गर्नुपर्ने प्रस्तावसमेत अघि सारेका छन्। पुनले विधान महाधिवेशनमार्फत कमिटीको आकार तथा पार्टीका विभिन्न जिम्मेवारीमा अवसरको मापदण्डबारे स्पष्ट व्यवस्था गर्नुपर्ने धारणा राखे। पार्टी कमिटी, सार्वजनिक नियुक्ति र निर्वाचनमा उम्मेदवारीका लागि निश्चित अवसरको मापदण्ड बनाउँदा कार्यकर्ताको सहभागिता र अवसर वितरणलाई व्यवस्थित गर्न सकिने उनको भनाइ छ। ‘विधान महाधिवेशनमार्फत कमिटीको संख्या र आकारबारे स्पष्ट मापदण्ड बनाउन सकिन्छ। पार्टीका विभिन्न जिम्मेवारी, सार्वजनिक नियुक्ति र निर्वाचनमा अवसरका सम्बन्धमा पनि निश्चित मापदण्ड तय गर्न सके संगठनात्मक रूपमा स्पष्टता आउन सक्छ,’ उनले भने। एमालेको आन्तरिक पुनर्गठनसम्बन्धी बहसमा विभिन्न धारणा सार्वजनिक भइरहेका छन्। यस सन्दर्भमा पुनले पार्टीभित्रको बहसलाई व्यक्तिकेन्द्रित विवादभन्दा नीति, संगठनात्मक सुधार र कार्यकर्ताको सहभागितामा केन्द्रित गर्नुपर्ने धारणा राखेका छन्। विष्णु पुन सचिव, नेपाल खेलकुद महासंघ