नेपाल–भारत आर्थिक सहकार्यमा नयाँ पहल, बाढीपछिको पुनर्निर्माणमा भारतीय सहयोगको प्रतिबद्धता।
👤 सनस्टार संवाददाता | 📅 2026-09-18

पोखरा । नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय अर्थमन्त्री निर्मला सीतारमणबीच नयाँ दिल्लीमा महत्वपूर्ण द्विपक्षीय भेटवार्ता भएको छ। भेटवार्तामा हालैको बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनःस्थापना, नेपाल–भारत आर्थिक सम्बन्ध विस्तार र द्विपक्षीय सहकार्यका विभिन्न विषयमा छलफल भएको छ।
भारतीय अर्थ मन्त्रालयका अनुसार भेटवार्तामा बाढीबाट भएको क्षति र नेपालको पुनर्निर्माण तथा पुनःस्थापनाका प्राथमिकताबारे छलफल भएको थियो। भारतीय पक्षले विपद्पछिको नेपालको पुनःस्थापना र पुनर्निर्माणमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
** "अर्थमन्त्री वाग्लेले बाढी तथा विपद्का क्रममा भारतले उपलब्ध गराएको राहत सामग्री तथा उद्धार कार्यका लागि प्रदान गरेको प्राविधिक सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो। नेपालले विशेषगरी क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणका लागि भारतीय सहयोगको अपेक्षा राखेको बताइएको छ।"**
भेटवार्तामा नेपाल–भारतबीचको व्यापार तथा आर्थिक साझेदारीलाई थप मजबुत बनाउने विषयमा पनि जोड दिइएको छ। व्यापार विस्तार, भारतीय लगानीलाई नेपालमा थप आकर्षित गर्ने, ऊर्जा सहकार्य अघि बढाउने तथा दुई देशबीचको कनेक्टिभिटी सुधार गर्ने विषयमा छलफल भएको नेपालस्थित स्रोत तथा भारतीय अर्थ मन्त्रालयको विवरणमा उल्लेख छ।
विशेषगरी कनेक्टिभिटी विस्तारले व्यापार, लगानी र दुई देशका नागरिकबीचको आवतजावतलाई थप सहज बनाउने भएकाले यसलाई आर्थिक साझेदारीको महत्वपूर्ण आधारका रूपमा अघि बढाउने विषयमा दुवै पक्षले जोड दिएका छन्।
अर्थमन्त्री वाग्लेको भारत भ्रमण विपद्पछिको पुनर्निर्माणसँगै नेपाल–भारत आर्थिक सम्बन्धलाई थप विस्तार गर्ने उद्देश्यले महत्वपूर्ण मानिएको छ। भ्रमणका क्रममा भारतीय उच्च अधिकारी तथा व्यवसायीहरूसँग पनि व्यापार, लगानी र विकास सहकार्यका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।
नेपालले बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण अघि बढाइरहेका बेला भारतसँग भएको यो उच्चस्तरीय आर्थिक संवादले पुनर्निर्माणका लागि आवश्यक स्रोत, प्राविधिक सहयोग र दीर्घकालीन आर्थिक साझेदारीका सम्भावनाबारे थप छलफलको आधार तयार गरेको नेपाल सरकारको अर्थ मन्त्रालय र भारत सरकारको अर्थ मन्त्रालयका आधिकारिक विवरणबाट देखिन्छ।