रविको मुद्दा फिर्ता गरेका न्यायाधीश बेलबासे उच्च अदालतको पेन्सन सुविधा पाउने गरी अवकाश
👤 सनस्टार संवाददाता | 📅 2026-09-24

रविको मुद्दा फिर्ता गरेका न्यायाधीश बेलबासे उच्च अदालतको पेन्सन सुविधा पाउने गरी अवकाश |
२०८३ असोज ८ बिहिबार
काठमाडौँ।
जिल्ला अदालत कास्कीका प्रमुख न्यायाधीश हिमलाल बेलबासे उच्च अदालतको न्यायाधीशमा बढुवा भएर असोज ४ गतेदेखि उमेर हदका कारण अवकाशमा गएका छन् ।
जिल्ला र उच्च अदालतका न्यायाधीशले ६३ वर्षको उमेरमा अवकाश पाउँछन् । अनिवार्य अवकाशको मुखमा यसरी गरिएको बढुवा वा सिफारिसले गर्दा उनले अवकाशपछि उच्च अदालतको पूर्वन्यायाधीश सरह पेन्सन (निवृत्तिभरण) तथा अन्य सेवा सुविधाहरू प्राप्त गर्ने छन् ।
गत साता न्याय परिषद्को सिफारिसमा उच्च अदालत जनकपुरको न्यायाधीशमा पदस्थापना हुने गरी सिफारिस भएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको सहकारी ठगीसँगै जोडिएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा संशोधन गर्ने अनुमति दिएका न्यायाधीश बेलबासेलाई अवकाशको नजिक उच्च अदालतमा बढुवा गरिएको थियो ।
न्याय परिषद्को बुलेटिन अनुसार उनी जिल्ला न्यायाधीशको वरीयता सूचीमा १३औँ नम्बरमा पर्छन् । उच्च अदालतमा पाँच जना न्यायाधीश खाली रहेकामा न्याय परिषद् बैठकले बेलबासेसहित सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेल र फैसला कार्यान्वयन महानिर्देशनालयका गजेन्द्रबहादुर सिंहलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो।
जिल्ला अदालतका न्यायाधीश बेलबासेले यसअघि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा दर्ता भएको सूर्यदर्शन सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग संशोधनको अनुमति दिएका थिए।
न्यायाधीश बेलबासेको एकल इजलासले गत जेठ ८ गते दिएको थियो । कास्की जिल्ला अदालतसँगै रुपन्देही, काठमाडौँ र पर्सा जिल्ला अदालतले मुद्दा संशोधनको अनुमति दिएको थियो।
जेनजी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारकी महान्यायाधीवक्ता सविता भण्डारीले लामिछानेविरुद्ध देशभरका अदालतमा दर्ता भएका मुद्दा संशोधन गर्ने निर्णय गरेकी थिइन् ।
निर्णयअनुसार जिल्ला सरकारी वकिल कार्यालय कास्कीमार्फत दर्ता भएको अभियोग संशोधनलाई बेलबासेको इजलासले सदर गरेको थियो । संशोधनपछि लामिछानेविरुद्ध सहकारी ठगी सम्बन्धी मुद्दा मात्रै बाँकी छ।