मुख्य समाचार

सम्भावित बाढी–पहिरोको जोखिमका कारण पोखराका विद्यालय दुई दिन बन्द

👤 सनस्टार संवाददाता  |  📅 2026-09-24
सम्भावित बाढी–पहिरोको जोखिमका कारण पोखराका विद्यालय दुई दिन बन्द
सम्भावित बाढी–पहिरोको जोखिमका कारण पोखराका विद्यालय दुई दिन बन्द | २०८३ असोज ८ बिहिबार , पोखरा । सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिको जोखिमलाई मध्यनजर गर्दै पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन स्थानीय बिदा दिने निर्णय गरेको छ। पोखरा महानगरपालिकाका अनुसार आज ८ गते र भोलि ९ गते विद्यालयहरूमा स्थानीय बिदा दिइएको हो। उक्त दुई दिनको बिदालाई पछि दिइने अन्य सार्वजनिक बिदासँग समायोजन गरिने महानगरपालिकाले जनाएको छ। सम्भावित प्राकृतिक विपद्को जोखिमलाई ध्यानमा राखी विद्यार्थी, अभिभावक, शिक्षक तथा महानगरवासीलाई आ–आफ्नो स्थानमा सतर्क र सुरक्षित रहन महानगरपालिकाले अनुरोध गरेको छ। महानगरपालिकाले सम्भावित जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन तथा विपद्को समयमा सुरक्षा मापदण्ड पालना गर्न आग्रह गरेको छ। “सुरक्षा नै पहिलो प्राथमिकता हो। सतर्क रहौँ, सुरक्षित रहौँ,” महानगरपालिकाले जनाएको छ।