स्थानीय सरकारको पहलमा बिरेठाँटीको अवरुद्ध सडक सुचारु हुने तयारी
👤 सनस्टार संवाददाता | 📅 2026-09-18

पोखरा । अविरल वर्षाका कारण क्षतिग्रस्त भई अवरुद्ध बनेको कास्कीको अन्नपूर्ण गाउँपालिका–८ बिरेठाँटीको सडक सुचारु गर्ने तयारी भइरहेको छ।
सडक पुनर्निर्माण तथा मर्मतका लागि स्थानीय सरकारको पहलमा काम अघि बढाइएको हो। सडक संरक्षणका लागि खोलामा तारजाली लगाउने, क्षतिग्रस्त भाग मर्मत गर्ने तथा यातायात सञ्चालनयोग्य बनाउने काम भइरहेको जनाइएको छ।
पुनर्निर्माणमा नेपाली सेनाले श्रमदान गरेको छ भने गण्डकी प्रदेश सरकारबाट तारजाली सहयोग प्राप्त भएको छ। त्यस्तै, विभिन्न संघसंस्था तथा व्यक्तिहरूले आर्थिक सहयोग उपलब्ध गराएका छन्।
बाढी तथा वर्षाका कारण सडकको केही भागमा क्षति पुगेपछि यातायात प्रभावित भएको थियो। स्थानीय सरकारको सक्रियता तथा विभिन्न निकायको सहयोगमा अहिले मर्मत कार्य अघि बढेकाले सडक छिट्टै सुचारु हुने अपेक्षा गरिएको छ।
अन्नपूर्ण गाउँ पालिकाका इन्जिनियर सैलेन्द्र क्षेत्रीका अनुसार असोज ५ गते कार्य सम्पन्न गरि यातायात सुचारु गर्ने अनुमान गरीयतापनी चारैतिरबाट भएको सहयोग, सद्भाव र अन्नपूर्ण गाउँ पालिका सरकारको सक्रियताका कारण आज असोज २ गते अपरान्ह ४ बजेबाट यातायात सुचारु हुने जानकारी दिनुभयो।
सडक सुचारु भएपछि अन्नपूर्ण ८,९,१० र ११ को दाङ्सिङ , घान्द्रुक, उल्लेरी,छोम्रोङ लगायत अन्नपूर्ण बेसक्याम्प सम्मका स्थानीय बासिन्दासँगै पर्यटकीय आवागमनमा समेत सहजता आउने अपेक्षा गरिएको छ।