हिमालहरू तीव्र गतिमा पग्लिँदा भारतको अर्थतन्त्र किन 'जोखिम'मा?
👤 सनस्टार संवाददाता | 📅 2026-09-15

हिमनदीहरू छिटो पग्लिने तथा हिमतालहरू अस्थिर हुने क्रम बढ्ने अनि पहाडहरूको निगरानी प्रणालीमा रहेको अभावका कारण हिमालहरू खतरनाक अवस्थातर्फ बढिरहेका एउटा नयाँ अध्ययनले देखाएको छ। नेपाल र तिब्बतमा १,३०० जनाभन्दा बढी मानिसको मृत्यु र व्यापक विनाश निम्त्याएको विनाशकारी बाढीपछि यो निष्कर्ष आएको हो र यसले द्रुत गतिमा परिवर्तन भइरहेको हिमाली वातावरणबाट उत्पन्न बढ्दो खतराहरूलाई औँल्याएको छ।
एक दशकअघिको तुलनामा हिमनदीहरूले ६५ प्रतिशतले छिटो सघनता गुमाइरहेका इन्टिग्रेटेड माउन्टेन इनिशटिभसँगको सहकार्य र इन्टर्न्याश्नल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डिभेलप्मन्ट (इसिमोड) एवं जीबी पन्त न्याश्नल इन्स्टिट्यूट अफ हिमालयन इन्भाइरमन्टको प्राविधिक सहयोगमा अन्तर्राष्ट्रिय परामर्श संस्था सिस्टेमिकले तयार पारेको प्रतिवेदनमा उल्लेख छ।
**'एकपछि अर्को जोखिम'**
अनुमगनमा देखिएको यो खाडलले अर्थ राख्छ किनकि भौगर्भिक स्वरूपमा परिवर्तन भइरहेको छ। तापक्रम बढेका कारण किनारामा भएका बरफ पग्लिन थाल्दा र तापक्रम बढेकै कारण हिउँ पर्ने क्रम कम हुँदा हिमतालहरू खुम्चिन पुग्छन्। अर्कोतिर चट्टान र बरफको अस्थिर संरचनाले थमाइराखेका तालहरूको आकारहरू भने बढ्न पुग्छ। सँगसँगै तापमान बढेका कारण 'पर्माफ्रस्ट' अस्थिर बन्न पुगेको छ। पर्माफ्रस्ट भनेको बरफले ढाकिरहेका कारण स्थायी रूपमा जमिरहेको हुने जमिन हो, जुन तापक्रम बढेका कारण पग्लिन थालेको छ- त्यसका कारण उच्च हिमाली क्षेत्रमा एकपछि अर्को जोखिमको सम्भावना बढाएको छ - प्रतिवेदनमा दर्शाइएको छ।
**आर्थिक प्रभाव**
भारत सरकारले जुलाईमा संसद्लाई जानकारी गराएअनुसार सन् २०२५ मा भारतीय हिमाली क्षेत्रका १८९ उच्च जोखिम भएका तालहरूको वैज्ञानिक मूल्याङ्कनपछि ५६ हिमतालहरूलाई "अत्यन्त जोखिमयुक्त" भनी वर्गीकरण गरिएको छ। केन्द्रीय जल आयोगले भारतको हिमाली जलाधार क्षेत्रमा १० हेक्टरभन्दा ठूला २,४८५ हिमतालहरूको निगरानी गरिरहेको सरकारले जनाएको छ। प्राकृतिक बाँध फुटेर हिमतालहरू बाट हुने विनाशकारी परिणामका धेरै उदाहरणहरू हिमालले यसअघि नै भोगिसकेको छ।
सन् २०२३ मा सिक्किममा हिमताल फुटेर आएको बाढीले कम्तीमा ७० जनाको ज्यान गएको थियो भने सडक, पुल र जलविद्युत् आयोजनाहरूमा व्यापक क्षति पुर्याएको थियो। सन् २०२१ मा उत्तराखण्डमा त्यस्तै प्रकोपले ऋषिगङ्गा र धौलीगङ्गा उपत्यकाहरूमा ठूलो बाढी आएपछि २०० जनाभन्दा बढी व्यक्तिको ज्यान गएको थियो। तर खतरा आकस्मिक बाढीमा मात्र सीमित छैन। हिमाल एउटा विशाल प्राकृतिक जल प्रणाली हो, जसले दक्षिण एशियाका लाखौँ मानिसहरूको जीवन धान्ने नदीहरूलाई पानी पुर्याइरहेको छ।
इसिमोडका अनुसार हिन्दूकुश क्षेत्रका अधिकांश हिमाली जलाधार क्षेत्रमा यो शताब्दीको मध्यतिर "व्यापक पानी" हुने अपेक्षा गरिएको छ- त्यो बिन्दुमा हिमनदीहरूबाट पानीको बहाव अधिकतम स्तरमा पुग्ने छ र त्यसपछि हिमनदीको सघनता घट्दै जाने छ। नयाँ अनुसन्धानले यस निर्भरताको असाधारण रूपमा ठूलो आर्थिक प्रभावबारे औँल्याएको छ।
हिमालको पानीले भारतको कुल गार्हस्थ्य उत्पादनको लगभग २० प्रतिशतमा योगदान पुर्यएको छ। त्यसले गहुँ, धान, चिया, जलविद्युत् उत्पादन र तीर्थयात्राबाट हुने आम्दानीमा भूमिका निर्वाह गर्छ। यद्यपि पहाडी राज्यहरूले त्यसको लगभग ५ प्रतिशत मात्र प्राप्त गर्छन्।
"हिमाल तेस्रो ध्रुव हो," लन्डन स्कूल अफ ईकनमिक्सको ग्रान्थम रिसर्च इन्स्टिट्यूट अन क्लाइमेट चेन्ज एन्ड द इन्भाइरमन्टका अर्थशास्त्री लर्ड निकोलस स्टर्न भन्छन्।
"यो राष्ट्रिय र अन्तर्राष्ट्रिय पूर्वाधार हो," उनले अगाडि थपे। त्यसलाई आधार बनाउने पर्यावरणीय प्रणालीहरू "उत्कर्षमा पुगिरहेका" स्टर्नले चेतावनी दिए|
**हिमनदी पग्लने सबै कारणहरू यस क्षेत्रको नियन्त्रणभन्दा बाहिर छैनन्।**
सिस्टेमिकको अध्ययनका अनुसार हिमनदी लगभग एकतिहाइ कालो कार्बनको कारणले पग्लने हुन्छन्, जसमध्ये धेरैजसो समथर भूभागमा हुने इँटा भट्टाहरूबाट आउँछ। बरफमा जम्मा भएको कालोले सूर्यको प्रकाश बढी सोस्छ र पग्लने प्रक्रियालाई तीव्र बनाउँछ।
हरितगृह ग्यास उत्सर्जनको हकमा नभए पनि प्रदूषणको हकमा भारत र उसका छिमेकीहरूले कालो कार्बनलाई प्रत्यक्ष रूपमा सम्बोधन गर्न सक्ने प्रतिवेदनमा तर्क गरिएको छ। "हिमालहरू उत्कर्ष बिन्दुमा पुग्दै छन्, जसका कारण लाखौँ मानिसहरूको जीविकोपार्जन जोखिममा छ," सिस्टेमिककी वरिष्ठ निर्देशक तथा प्रतिवेदनकी मुख्य शोधकर्ता आरुषी चोपडाले भनिन्।
प्रतिवेदनले कालो कार्बन उत्सर्जन कटौती गर्ने, हिमनदीहरूको निगरानी बढाउने, विपद्सम्बन्धी पूर्वसूचना प्रणालीमा सुधार गर्ने र पहाडी क्षेत्रहरूमा पर्यटन विकासका तरिका परिवर्तन गर्ने जस्ता १० वटा प्राथमिकता परिवर्तनहरू प्रस्ताव गरेको छ। एउटा प्राथमिकतामा विपद्सम्बन्धी पूर्वतयारीलाई सुदृढ पार्नु रहेको छ। त्यसमा मानिसहरूलाई अन्यत्र सार्नुदेखि जोखिमयुक्त पूर्वाधारहरूलाई जोगाउनु रहेको छ।
पर्यटनबारे पुनर्विचार गर्नु अर्को प्राथमिकता रहेको छ। प्रतिवेदनका अनुसार भारतीय हिमाली क्षेत्रमा बर्सेनि झन्डै चार करोड पर्यटक पुग्छन्।
पर्यटक सङ्ख्या वृद्धि गर्नुको सट्टा स्थानीय रूपमा मूल्य सिर्जना गर्ने एवं दिगो बनाउने र त्यसमा पुनः लगानी गर्ने उद्देश्य हुनुपर्ने शोधकर्ताहरूको सुझाव छ।
जोखिमहरू बढ्दो रूपमा जटिल भइरहेको इसिमोडका महानिर्देशक पेमा ग्याम्त्शो औँल्याउँछन्। "हिमनदीहरू खुम्चिँदै छन्, पर्माफ्रस्ट र उच्च पहाडी भिरालोहरू बढ्दो रूपमा अस्थिर हुँदै गइरहेका छन् र तल्लो भागमा रहेका समुदाय तथा पूर्वाधारहरूले जटिल एवं क्रमिक प्रकोपहरूको बढ्दो जोखिमको सामना गरिरहेका छन्," उनले अगाडि भने।
यी जोखिमहरू हिमाली सीमाहरूमा मात्र सीमित छैनन्। त्यस्ता खतराहरू "राष्ट्रिय सीमाहरूभित्र मात्र बस्दैनन् र कुनै एउटा देशले एक्लै तिनीलाई सम्बोधन गर्न सक्दैन।"जीवन बचाउन मात्र नभई पहाडहरूमा निर्भर लाखौँ मानिसको जीविकोपार्जन र अर्थतन्त्र जोगाउन पनि सीमापार निगरानी, साझा जोखिम सूचना र पूर्वसूचना प्रणाली एवं सामना क्षमतामा संयुक्त लगानी महत्त्वपूर्ण छ।