३५ वर्षदेखि कांग्रेसमा सक्रिय दुर्गा प्रसाद सुवेदीद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी |
👤 सनस्टार संवाददाता | 📅 2026-09-23

३५ वर्षदेखि कांग्रेसमा सक्रिय दुर्गा प्रसाद सुवेदीद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी
२०८३ असोज ७ , पोखरा ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिवेशन प्रक्रिया अघि बढेसँगै कास्की क्षेत्र नं. १ मा महाधिवेशन प्रतिनिधिका उम्मेदवारहरूबीच चुनावी गतिविधि तीव्र बनेको छ। यस क्रममा नेपाली कांग्रेसमा लामो समयदेखि सक्रिय रहँदै आएका दुर्गा प्रसाद सुवेदीले क्षेत्र नं. १ बाट खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन्।
दुर्गा प्रसाद सुवेदी विगत ३५ वर्षदेखि नेपाली कांग्रेसमा निरन्तर सक्रिय रहँदै पार्टीका विभिन्न तहमा जिम्मेवारी निर्वाह गर्दै आएक छन। उनले करिब २० वर्ष वडा सभापतिको जिम्मेवारी सम्हाल्दै पार्टी संगठन निर्माण तथा स्थानीय तहमा कांग्रेसको गतिविधिलाई अघि बढाउन भूमिका निर्वाह गरेका छन ।
त्यसैगरी सुवेदीले स्थानीय तहमा वडा अध्यक्षलगायतका विभिन्न जिम्मेवारीमा रहेर काम गरेको उनका समर्थकहरूले बताएका छन्।
स्थानीयस्तरमा पार्टी संगठनसँगै जनताका सुख–दुःखमा निरन्तर साथ दिँदै आएको र आफूले जिम्मेवारी निर्वाह गर्दा निष्पक्ष तथा पूर्वाग्रहरहित ढंगले काम गरेको दुर्गा प्रसाद सुवेदीको दाबी छ।
दुर्गा प्रसाद सुवेदीलाई नेपाली कांग्रेस क्षेत्र नं. १ बाट खुला तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा मतदान गरी जनताको प्रतिनिधिका रूपमा सम्मान तथा जिम्मेवारी प्रदान गर्न उनका समर्थकहरूले क्षेत्रीय प्रतिनिधिहरूसँग आग्रह गरेका छन्।
सुवेदीले कांग्रेसको नीति, सिद्धान्त र आदर्शलाई व्यवहारमा कार्यान्वयन गर्दै संगठनलाई थप बलियो बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन्। उनले पार्टीभित्र सबै पक्षलाई समेटेर संगठनलाई चलायमान बनाउने तथा जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा जोड दिएका छन्।
महाधिवेशनको तयारी तीव्र
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन २०८३ असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने तय भएको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको परिमार्जित कार्यतालिकाअनुसार वडा अधिवेशनपछि गाउँ–नगरपालिका अधिवेशन, प्रदेश सभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुँदै महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया अघि बढ्नेछ।
पछिल्लो कार्यतालिकाअनुसार गाउँ–नगरपालिका अधिवेशन असोज ७ गते, प्रदेश सभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन असोज १० गते तथा केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यक्रम छ।
यससँगै कास्की क्षेत्र नं. १ मा पनि महाधिवेशन प्रतिनिधि चयनका लागि राजनीतिक गतिविधि बढेको छ। सुवेदीले आफूले लामो समय पार्टी संगठन र स्थानीय तहमा निर्वाह गरेको भूमिकालाई आधार बनाउँदै प्रतिनिधिका रूपमा उम्मेदवारी अघि सारेका हुन्।