एमालेका नेता–कार्यकर्तामा आशा नजगाई अधिवेशन गर्नुको औचित्य छैन । अधिवेशन केवल नेता चयन गर्ने, गुटको शक्ति प्रदर्शन गर्ने र पार्टीको आन्तरिक सत्ता आफ्नो पक्षमा केन्द्रित गर्ने माध्यम बन्यो भने त्यसले पार्टीलाई पुनर्जीवन दिन सक्दैन। बिष्णु पुन जेन्जी आन्दोलनबाट अभिव्यक्त भएको परिवर्तनको चाहना र फागुन २१ को निर्वाचनमा नेकपा एमालेले भोग्नुपरेको लज्जास्पद पराजयपछि पार्टी गम्भीर आत्मसमीक्षाको मोडमा उभिएको छ। बदलिँदो राजनीतिक परिस्थिति, नयाँ पुस्ताको आकांक्षा र जनताको बदलिएको मनोविज्ञानलाई समयमै बुझ्न नसक्दा पार्टीले भोग्नुपरेको क्षतिको समीक्षा गर्दै नेकपा एमाले अहिले आन्तरिक संगठनलाई व्यवस्थित, सुदृढ र गतिशील बनाउने अभियानमा जुटेको छ। केन्द्रीय कमिटीको बैठकले तय गरेको कार्यदिशाअनुसार राष्ट्रिय कार्यकर्ता भेला, वडा अधिवेशन र पालिका अधिवेशनको तयारी अघि बढाइएको छ। स्थानीय तहको निर्वाचनअघि पार्टी संगठनलाई चुस्त, प्रभावकारी र जनतासँग जोड्ने उद्देश्यले अघि सारिएको यो अभियान एमालेका लागि नियमित सांगठनिक प्रक्रिया मात्र होइन, पार्टीको भविष्य निर्धारण गर्ने महत्त्वपूर्ण अवसर पनि हो। तर यहाँ एउटा गम्भीर प्रश्न छ केवल अधिवेशन गरेर नेतृत्व चयन गर्नु नै आजको एमालेको आवश्यकता हो ? कि नेता–कार्यकर्तामा नयाँ आशा, विश्वास र उत्साह जगाउनु मुख्य आवश्यकता हो ? पार्टीले यसको इमानदार जवाफ खोज्नुपर्छ। अधिवेशन नेतृत्व चयनको प्रक्रिया मात्र होइन अधिवेशन भनेको विगतका कमजोरीको आत्मालोचना गर्ने, उपलब्धिको समीक्षा गर्ने, वर्तमान चुनौती पहिचान गर्ने र भविष्यको स्पष्ट कार्यदिशा तय गर्ने महत्त्वपूर्ण अवसर हो। अधिवेशनले पार्टीभित्र नयाँ ऊर्जा सिर्जना गर्नुपर्छ, कार्यकर्ताको मनोबल उठाउनुपर्छ र जनतामा पार्टीप्रतिको विश्वास पुनः स्थापित गर्नुपर्छ। तर अधिवेशन केवल नेता चयन गर्ने, गुटको शक्ति प्रदर्शन गर्ने र पार्टीको आन्तरिक सत्ता आफ्नो पक्षमा केन्द्रित गर्ने माध्यम बन्यो भने त्यसले पार्टीलाई पुनर्जीवन दिन सक्दैन। बरु पुरानै प्रवृत्तिको पुनरावृत्ति हुन्छ र परिवर्तनको अपेक्षा गरेका नेता–कार्यकर्ता थप निराश बन्न पुग्छन्। आज एमालेले भोगिरहेको संकट केही नेताको कमजोरी वा केही कार्यकर्ताको निष्क्रियतामा मात्र सीमित छैन। यो पार्टी सञ्चालनको शैली, नेतृत्वको कार्यसंस्कृति, अवसर वितरणको पद्धति, संगठनभित्रको लोकतान्त्रिक अभ्यास र जनतासँगको सम्बन्धसँग जोडिएको व्यापक समस्या हो। त्यसैले समाधान पनि सतही होइन, संरचनागत र व्यवहारगत परिवर्तनमा आधारित हुनुपर्छ। पराजयको जिम्मेवारी र इमानदार आत्मसमीक्षा निर्वाचनमा हार बेहोर्नु कुनै पनि राजनीतिक दलका लागि असामान्य घटना होइन। तर पराजयबाट शिक्षा लिन नसक्नु, कमजोरी स्वीकार नगर्नु र पुरानै कार्यशैलीलाई निरन्तरता दिनु गम्भीर समस्या हो। एमालेले निर्वाचनको परिणामलाई केवल प्रतिकूल परिस्थिति, विपक्षीको रणनीति वा मतदाताको अस्थायी असन्तुष्टिका रूपमा व्याख्या गरेर पुग्दैन। पार्टीले आफ्ना निर्णय, नेतृत्वको व्यवहार, सरकार सञ्चालनको विगत, जनताका अपेक्षा, स्थानीय तहमा संगठनको अवस्था र कार्यकर्ताको भूमिकाबारे गहिरो समीक्षा गर्नुपर्छ आत्मालोचना भनेको कसैलाई दोषी देखाएर उम्किने प्रक्रिया होइन। जिम्मेवारी स्वीकार गर्ने, कमजोरी सच्याउने र सुधारको परिणाम देखाउने प्रतिबद्धता हो। नेतृत्वदेखि वडा तहसम्मका कमिटीले आफ्ना कमजोरी पहिचान गर्नुपर्छ। गल्ती स्वीकार गर्ने संस्कार स्थापित नभएसम्म पार्टीमा वास्तविक सुधार सम्भव हुँदैन कार्यकर्ताको योगदानको सम्मान र अवसरमा समानता कुनै पनि राजनीतिक पार्टीको वास्तविक शक्ति त्यसका नेता मात्र होइनन्; विचार, संगठन र उद्देश्यप्रति प्रतिबद्ध भएर निरन्तर काम गर्ने कार्यकर्ता हुन्। एमालेको संगठनात्मक इतिहास निर्माणमा वर्षौँदेखि संघर्ष गर्दै आएका, कठिन परिस्थितिमा पार्टीको झण्डा बोकेका र व्यक्तिगत स्वार्थभन्दा संगठनलाई प्राथमिकता दिएका कार्यकर्ताको योगदानको उचित मूल्यांकन हुनुपर्छ। तर पार्टीभित्र अवसरको वितरण सीमित व्यक्तिको पहुँच, गुटगत निकटता र नेतृत्वसँगको व्यक्तिगत सम्बन्धका आधारमा हुने अवस्था कायम रह्यो भने इमानदार कार्यकर्ता निराश हुन्छन्। त्याग, समर्पण, क्षमता, इमानदारी र परिणाममुखी कामको मूल्यांकन नहुने पार्टीमा नयाँ पुस्ताले भविष्य देख्न सक्दैन। त्यसैले एमालेले अवसरमा समानता सुनिश्चित गर्ने स्पष्ट मापदण्ड बनाउनुपर्छ। पार्टीको जिम्मेवारी, निर्वाचनमा उम्मेदवारी, राजनीतिक नियुक्ति र अन्य अवसर वितरण गर्दा योगदान, क्षमता, लोकप्रियता, इमानदारी तथा कार्यसम्पादनलाई आधार बनाउनुपर्छ। एउटै व्यक्तिले पटक–पटक अवसर पाइरहने र लामो समय योगदान गरेका कार्यकर्ता सधैँ पर्खिरहने अवस्थाको अन्त्य गर्नुपर्छ। कार्यकर्तालाई भाषणमा सम्मान गरेर मात्र पुग्दैन। उनीहरूको योगदानको संस्थागत अभिलेख, निष्पक्ष मूल्यांकन र जिम्मेवारीमा न्यायोचित अवसर सुनिश्चित गर्नुपर्छ। कार्यकर्ताले पार्टीमा आफ्नो भविष्य सुरक्षित देख्न थालेपछि मात्र संगठनप्रतिको अपनत्व र प्रतिबद्धता बलियो हुन्छ। गुटबन्दीको अन्त्य र एकताको नयाँ आधार एमालेको संगठनात्मक पुनर्निर्माणका लागि अर्को महत्त्वपूर्ण सर्त हो गुटगत स्वार्थभन्दा माथि उठेको एकता। पार्टीभित्र विचार, नीति र कार्यदिशाबारे बहस हुनु स्वाभाविक हो। तर फरक विचार राखेकै आधारमा कार्यकर्तालाई किनारा लगाउने, जिम्मेवारीबाट वञ्चित गर्ने र अवसरमा विभेद गर्ने प्रवृत्ति स्वीकार्य हुन सक्दैन। गुटबन्दीको अन्त्य भनेको फरक मत निषेध गर्नु होइन। बरु विचारको स्वतन्त्रता कायम राख्दै व्यक्तिगत स्वार्थका आधारमा निर्माण हुने शक्ति समूहलाई निरुत्साहित गर्नु हो। नेतृत्व चयनमा प्रतिस्पर्धा हुनुपर्छ, तर प्रतिस्पर्धापछि सबैलाई समेटेर साझा उद्देश्यमा अघि बढ्ने संस्कृति स्थापित हुनुपर्छ। पार्टीभित्र कसले कसलाई समर्थन गर्छ भन्नेभन्दा कसले पार्टी र जनताका लागि के योगदान गर्छ भन्ने विषय महत्त्वपूर्ण बन्नुपर्छ। अधिवेशनमा पराजित हुने कार्यकर्तालाई अपमानित गर्ने र विजयी पक्षले पार्टीलाई आफ्नो निजी सम्पत्तिजस्तो व्यवहार गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ। एमाले बलियो बन्ने आधार कुनै एउटा नेता वा समूहको विजय होइन; पार्टीभित्रका सबै इमानदार र प्रतिबद्ध शक्तिको साझा सहभागिता हो। सानो कमिटी, प्रभावकारी संगठन र व्यापक जनसम्बन्ध संगठन ठूलो हुँदैमा पार्टी बलियो हुन्छ भन्ने छैन। कमिटीमा धेरै सदस्य राख्ने तर नियमित बैठक नबस्ने, जिम्मेवारी पूरा नगर्ने र जनताका समस्यामा उपस्थित नहुने संरचनाले पार्टीलाई प्रभावकारी बनाउन सक्दैन। एमालेले कमिटीको आकारभन्दा कार्यक्षमता, जिम्मेवारी र परिणामलाई प्राथमिकता दिनुपर्छ। आवश्यकताअनुसार चुस्त र जिम्मेवार कमिटी निर्माण गर्दै पार्टीका मतदाता, शुभचिन्तक, समर्थक र आम नागरिकसँगको सम्बन्ध विस्तार गर्नुपर्छ। हरेक कमिटीले आफ्नो कार्यक्षेत्रका जनताको समस्या पहिचान गर्ने, समाधानका लागि पहल गर्ने र त्यसको प्रगति सार्वजनिक गर्ने प्रणाली विकास गर्नुपर्छ। कमिटीको सफलता बैठकको संख्या वा पदाधिकारीको सूचीबाट होइन, जनताले अनुभव गर्ने परिवर्तनबाट मापन गरिनुपर्छ। पार्टी कार्यालय चुनावका बेला मात्र खुल्ने र नेता–कार्यकर्ता मत माग्न मात्र जनताको घरदैलोमा पुग्ने अवस्था अन्त्य हुनुपर्छ। जनताको दुःख, समस्या र आवश्यकतामा नियमित रूपमा साथ दिने संगठन निर्माण गर्नु आजको आवश्यकता हो। नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने साहस जेन्जी आन्दोलनले नेपाली राजनीतिसामु एउटा स्पष्ट सन्देश दिएको छ नयाँ पुस्ता केवल भाषण र आश्वासनमा सन्तुष्ट छैन। उसले पारदर्शिता, जवाफदेहिता, अवसरमा न्याय, सुशासन र परिणाममुखी नेतृत्व खोजिरहेको छ। एमालेले नयाँ पुस्ताको असन्तुष्टिलाई केवल सामाजिक सञ्जालको प्रभाव वा क्षणिक आक्रोशका रूपमा बुझ्नु हुँदैन। त्यसमा व्यक्त भएका जायज प्रश्न र अपेक्षालाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्छ। पार्टीको नीति निर्माण, संगठन सञ्चालन र नेतृत्व विकासमा युवा पुस्ताको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्छ। युवालाई कार्यक्रममा सहभागी गराउने वा प्रचारप्रसारमा परिचालन गर्ने भूमिकामा मात्र सीमित राख्नु हुँदैन। निर्णय प्रक्रियामा सहभागी हुने, जिम्मेवारी सम्हाल्ने र आफ्नो क्षमता प्रमाणित गर्ने अवसर दिनुपर्छ। अनुभव र ऊर्जा एकअर्काका प्रतिस्पर्धी होइनन्। अनुभवी नेतृत्वको राजनीतिक ज्ञान र नयाँ पुस्ताको नवीन सोचलाई जोड्न सकियो भने एमालेले नयाँ राजनीतिक विश्वास निर्माण गर्न सक्छ। नेतृत्व हस्तान्तरणलाई उमेरको विवाद होइन, क्षमता, योगदान र समयको मागअनुसार हुने स्वाभाविक प्रक्रिया बनाउनुपर्छ। सुशासन र जनउत्तरदायित्वलाई प्राथमिकता राजनीतिक दलप्रतिको जनविश्वास कमजोर हुनुको एउटा कारण नेतृत्व र जनताको अपेक्षाबीच बढ्दो दूरी हो। जनताले राजनीतिक दलबाट विकास, रोजगारी, शिक्षा, स्वास्थ्य, सामाजिक न्याय र सुशासनको अपेक्षा गर्छन्। त्यसैले एमालेले आफ्नो राजनीतिक कार्यसूचीलाई जनजीवनका वास्तविक समस्यासँग जोड्नुपर्छ। भ्रष्टाचारप्रति शून्य सहनशीलता, सार्वजनिक स्रोतको पारदर्शी उपयोग, जिम्मेवारीमा रहेका व्यक्तिको जवाफदेहिता र निर्णय प्रक्रियामा स्पष्टता पार्टीको व्यवहारमै देखिनुपर्छ। पार्टीभित्र हुने आर्थिक गतिविधि, संगठनात्मक निर्णय र जिम्मेवारीको मूल्यांकनमा पारदर्शिता कायम गर्नुपर्छ। नेतृत्वले गरेका प्रतिबद्धता पूरा भए वा भएनन् भन्ने समीक्षा गर्ने आन्तरिक प्रणाली आवश्यक छ। जनतासामु लोकप्रिय नारा प्रस्तुत गर्नु सजिलो हुन्छ, तर ती नारालाई व्यवहारमा रूपान्तरण गर्नु नै राजनीतिक विश्वसनीयताको वास्तविक परीक्षा हो। विचार, नीति र व्यवहारबीच एकरूपता एमालेको ऐतिहासिक पहिचान जनताको बहुदलीय जनवाद, लोकतान्त्रिक अभ्यास, सामाजिक न्याय र राष्ट्रिय हितसँग जोडिएको छ। यो पहिचानलाई केवल दस्तावेज र भाषणमा सीमित राख्नु हुँदैन। पार्टीका निर्णय र व्यवहारमा पनि यसको प्रतिबिम्ब देखिनुपर्छ। पार्टीभित्र लोकतन्त्रको अभ्यास कमजोर बनाएर बाहिर लोकतन्त्रको पक्षमा बोल्नु, सामाजिक न्यायको नारा लगाएर अवसर वितरणमा विभेद गर्नु वा सुशासनको प्रतिबद्धता व्यक्त गरेर व्यवहारमा जवाफदेहिता नदेखाउनु विरोधाभासपूर्ण हुन्छ। विचारको रक्षा भनेको पुराना शब्द दोहोर्‍याउनु मात्र होइन; बदलिँदो समाजका प्रश्नको उत्तर दिन सक्ने गरी विचारलाई व्यवहारमा रूपान्तरण गर्नु पनि हो। आर्थिक असमानता, बेरोजगारी, वैदेशिक पलायन, कृषि संकट, उद्यमशीलता, डिजिटल प्रविधि र वातावरणीय चुनौतीबारे स्पष्ट नीति तथा कार्ययोजना प्रस्तुत गर्नुपर्छ। एमालेले आफ्नो वैचारिक स्पष्टता कायम राख्दै नयाँ पुस्ता र बदलिँदो समाजसँग संवाद गर्न सक्नुपर्छ। जनताले पार्टीको विचारलाई आफ्नो जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्ने माध्यमका रूपमा अनुभूति गर्न पाउनुपर्छ। स्थानीय तहबाटै संगठन पुनर्निर्माण वडा र पालिका अधिवेशनलाई पार्टी पुनर्निर्माणको वास्तविक आधार बनाउनुपर्छ। स्थानीय तहमा जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने नेतृत्व चयन गर्दा केवल गुटगत समीकरण वा माथिल्लो तहको समर्थनलाई निर्णायक बनाउनु हुँदैन। स्थानीय समस्या बुझेको, जनतामाझ विश्वसनीयता भएको, कार्यकर्तालाई समेट्न सक्ने र परिणाम दिन सक्ने व्यक्तिलाई प्राथमिकता दिनुपर्छ। प्रत्येक वडा र पालिकाले आगामी कार्ययोजना बनाउनुपर्छ। पार्टी सदस्यता नवीकरण, नयाँ सदस्यको सहभागिता, निष्क्रिय संगठनको पुनःसक्रियता, स्थानीय विकासका मुद्दा, युवा परिचालन र जनसम्बन्ध विस्तारका लागि मापन गर्न सकिने लक्ष्य तय गर्नुपर्छ। अधिवेशनपछि नयाँ नेतृत्वले पुरानो कमिटीका कार्यकर्तालाई बेवास्ता गर्ने होइन, सबैलाई समेटेर काम गर्नुपर्छ। संगठनमा जिम्मेवारी नपाएका व्यक्तिको अनुभव र क्षमतालाई पनि उपयोग गर्नुपर्छ। पार्टीलाई निर्वाचनका बेला मात्र सक्रिय हुने संरचनाबाट निरन्तर जनसेवामा परिचालित संगठनमा रूपान्तरण गर्नुपर्छ। आलोचना सुन्ने र सुधार गर्ने संस्कृति पार्टीलाई बलियो बनाउन नेतृत्वको प्रशंसा मात्र गर्ने वातावरण पर्याप्त हुँदैन। नेतृत्वका निर्णयमाथि प्रश्न उठाउन, कमजोरी औँल्याउन र वैकल्पिक सुझाव दिन सक्ने लोकतान्त्रिक वातावरण आवश्यक हुन्छ। आलोचना गर्ने कार्यकर्तालाई विरोधी ठान्ने, प्रश्न उठाउनेलाई अनुशासनहीनताको आरोप लगाउने र नेतृत्वको निर्णयमाथि छलफल गर्न नदिने प्रवृत्तिले संगठनलाई कमजोर बनाउँछ। पार्टीभित्रको आलोचना र सुझावलाई सुधारको अवसरका रूपमा लिनुपर्छ। यसका लागि नियमित समीक्षा बैठक, कार्यकर्तासँग प्रत्यक्ष संवाद, गुनासो सुनुवाइ र निर्णयको कार्यान्वयन अनुगमन गर्ने प्रणाली विकास गर्न सकिन्छ। नेतृत्वले पनि आफ्ना निर्णयको औचित्य स्पष्ट पार्ने र गल्ती भए सच्याउने संस्कार बसाल्नुपर्छ। पार्टीमा बोल्ने अवसर मात्र होइन, बोलिएका कुरा सुनिने र जायज सुझाव कार्यान्वयन हुने विश्वास स्थापित हुनुपर्छ। यही विश्वासले कार्यकर्ताको आत्मसम्मान र संगठनप्रतिको निष्ठा बलियो बनाउँछ। अधिवेशनले आशा जगाउनुपर्छ नेकपा एमाले अहिले सामान्य सांगठनिक प्रक्रियाभन्दा धेरै ठूलो चुनौतीको सामना गरिरहेको छ। निर्वाचनको पराजयबाट उठ्ने, नयाँ पुस्ताको विश्वास जित्ने, कार्यकर्ताको मनोबल फर्काउने र जनतासँगको सम्बन्ध पुनःस्थापित गर्ने जिम्मेवारी पार्टी सामु छ। यसका लागि नेतृत्व चयन मात्र पर्याप्त हुँदैन। पार्टीभित्र न्याय, अवसरमा समानता, गुटबन्दीको अन्त्य, त्याग र योगदानको सम्मान, नयाँ पुस्ताको सहभागिता, सुशासन, वैचारिक स्पष्टता र जनउत्तरदायित्वलाई व्यवहारमा उतार्नुपर्छ। आगामी अधिवेशनले पुरानै शक्ति समीकरणलाई नयाँ नाम दिने होइन, पार्टी सञ्चालनको शैलीमा परिवर्तन ल्याउने साहस गर्नुपर्छ। नेतृत्वमा आउने व्यक्तिले पद प्राप्तिलाई उपलब्धि होइन, कार्यकर्ता र जनताप्रतिको जिम्मेवारीका रूपमा बुझ्नुपर्छ। आज एमालेका नेता–कार्यकर्तालाई केवल अर्को अधिवेशनको प्रतीक्षा छैन; उनीहरूलाई आफ्नो योगदानको सम्मान हुने, क्षमता देखाउने अवसर पाइने, विचार राख्न सकिने र भविष्यप्रति आशा गर्न सकिने पार्टी चाहिएको छ। जनताले पनि नारा भन्दा व्यवहार, भाषणभन्दा परिणाम र व्यक्तिकेन्द्रित राजनीतिभन्दा जनमुखी नेतृत्व खोजिरहेका छन्। एमालेले फेरि उठ्ने हो भने सबै भन्दा पहिले आफ्ना नेता–कार्यकर्ताको मन जित्नुपर्छ। नेता–कार्यकर्ताको मन जित्न न्यायपूर्ण अवसर, सम्मानजनक व्यवहार र स्पष्ट भविष्यको सुनिश्चितता दिनुपर्छ। त्यसपछि मात्र जनताको विश्वास जित्ने आधार तयार हुन्छ। त्यसैले आजको मूल प्रश्न अधिवेशन कहिले र कसले जित्छ भन्ने होइन, अधिवेशनपछि एमाले कस्तो बन्छ भन्ने हो। यदि अधिवेशनले नेता–कार्यकर्तामा आशा, विश्वास र नयाँ ऊर्जा जगाउन सक्दैन भने त्यसको सांगठनिक उपलब्धि सीमित हुनेछ। तर अधिवेशनलाई आत्मसमीक्षा, रूपान्तरण र एकताको अभियान बनाउन सकियो भने यही प्रक्रिया एमालेको पुनर्जागरणको आधार बन्न सक्छ। अधिवेशन पद बाँड्ने माध्यम होइन, पार्टी बदल्ने अवसर बन्नुपर्छ। नेता चयन गर्ने प्रक्रिया मात्र होइन, नेता–कार्यकर्तामा आशा जगाउने अभियान बन्नुपर्छ। एमालेको पुनर्जागरणको सुरुवात यहीँबाट हुनुपर्छ\ गरौ ।