रिटर्नी फेडेरेसन कास्कीको तेस्रो जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा विष्णुबहादुर केसी निर्वाचित
👤 सनस्टार संवाददाता |

**१३ मंसिर २०८३**
**पोखरा** । वैदेशिक रोजगारीबाट आर्जित ज्ञान, सीप, अनुभव र पुँजीलाई स्वदेशको समृद्धिसँग जोड्ने उद्देश्यसहित क्रियाशील रिटर्नी फेडेरेसन नेपाल कास्कीको तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले विष्णुबहादुर केसीको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति निर्वाचित गरेको छ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा गोविन्द पराजुली, महिला उपाध्यक्षमा पवित्रा खड्का र सचिवमा शिवराज अधिकारी निर्वाचित हुनुभएको छ। त्यसैगरी तीन उपसचिवमा विष्णुप्रसाद सुवेदी, केशव अधिकारी र लक्ष्मण ढुंगाना निर्वाचित हुनुभएको छ।
समितिका सदस्यहरूमा ठाकुरजंग केसी, इन्द्रबहादुर गुरुङ, हिमबहादुर गुरुङ, राज केशव अधिकारी, उमेश अधिकारी र कृष्णबहादुर थापा निर्वाचित हुनुभएको छ।
अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथिका रूपमा रिटर्नी फेडेरेसन नेपालका केन्द्रीय उपाध्यक्ष जितेन्द्र बाँनिया तथा प्रमुख वक्ताका रूपमा पूर्व युवा तथा खेलकुदमन्त्री, नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं कास्की जिल्ला इन्चार्ज जगतबहादुर विश्वकर्माको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै केन्द्रीय उपाध्यक्ष बाँनियाले वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरूको ज्ञान, सीप, अनुभव र पुँजीलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गरेर राष्ट्रिय पुँजी निर्माण गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले रिटर्नीहरूलाई देशको आर्थिक विकास र समृद्धिको महत्वपूर्ण शक्तिका रूपमा स्थापित गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
त्यसैगरी प्रमुख वक्ता पूर्वमन्त्री विश्वकर्माले विदेशमा आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई एकीकृत गर्दै स्वदेशमै उत्पादन, उद्यमशीलता र रोजगारी सिर्जनामा लगाउन सके समृद्ध नेपाल निर्माणको राष्ट्रिय लक्ष्य हासिल गर्न सहज हुने बताउनुभयो। रिटर्नीहरूको क्षमता र अनुभवलाई राष्ट्रिय विकासको मूल प्रवाहमा जोड्नुपर्ने उहाँको भनाइ थियो।
कार्यक्रममा विशेष अतिथिका रूपमा मन्तव्य राख्दै रिटर्नी फेडेरेसन नेपालका केन्द्रीय सचिव विष्णुहरि भुगाईले वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकहरूको सामाजिक, आर्थिक तथा राजनीतिक पुनर्स्थापनालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। विदेशमा सिकेको सीप र कमाएको पुँजीलाई स्वदेशमै सदुपयोग गर्ने वातावरण निर्माण गर्नुका साथै रिटर्नीहरूको सम्मान, पहिचान र अधिकार सुनिश्चित गर्न संगठनले प्रभावकारी भूमिका खेल्नुपर्ने उहाँको जोड थियो।
अधिवेशनमा केन्द्रीय सचिवालय सदस्यहरू प्रमिला बराल र विश्वज्योति सुवेदीले नवनिर्वाचित नेतृत्वलाई शुभकामना दिँदै संगठनलाई थप व्यवस्थित, गतिशील र उपलब्धिमूलक बनाउन एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभयो।
कार्यक्रमको अध्यक्षता रिटर्नी फेडेरेसन नेपाल कास्कीका अध्यक्ष विष्णुबहादुर केसीले गर्नुभएको थियो भने सञ्चालन सचिव पवित्रा खड्काले गर्नुभएको थियो।
वैदेशिक रोजगारीलाई केवल विप्रेषण भित्र्याउने माध्यमका रूपमा मात्र नभई त्यहाँबाट आर्जित ज्ञान, सीप, प्रविधि, अनुभव र पुँजीलाई स्वदेशको उत्पादन तथा विकासमा रूपान्तरण गर्ने अभियानका रूपमा अघि बढाउने लक्ष्यसहित फेडेरेसनले आफ्नो संगठन विस्तार र संस्थागत सुदृढीकरणलाई तीव्रता दिँदै आएको छ।