केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा पार्दै एमाले
👤 सनस्टार संवाददाता |

केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा पार्दै एमाले
काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टी एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा हटाएपछि पार्टीले पूर्वसैनिक तथा प्रहरी सङ्गठनलाई केन्द्रीय कार्यालयको सुरक्षा जिम्मा दिएको प्रचार विभाग प्रमुख निरज आचार्यले जनाएका छन् ।
कार्यालय परिसरमा सुरक्षा जोखिम बढेको महसुस गर्दै एमालेले चौतर्फी रूपमा शक्तिशाली क्यामेरा (सीसीटीभी) जडान गरी निगरानी समेत बढाएको छ ।
वि.सं. २०४८ देखि सरकारले एमाले केन्द्रीय कार्यालयलाई दिँदै आएको सुरक्षा सेवा हालै कुनै पूर्वजानकारी विना हटाइएको थियो । सरकारी सुरक्षा हटाइएपछि र पछिल्लो समय कार्यालय परिसरमा अपरिचित व्यक्तिहरूको अस्वाभाविक आउजाउ तथा गतिविधि बढेपछि पार्टीले आफ्नै तर्फबाट सुरक्षा सतर्कता बढाउनुपरेको जनाइएको छ ।
नयाँ व्यवस्थाअनुसार पूर्वसैनिक तथा पूर्वप्रहरीहरूको टोलीले २४ सै घण्टा कार्यालयको सुरक्षा पहरा दिनेछ भने क्यामेरामार्फत हरेक गतिविधिको सूक्ष्म निगरानी गरिनेछ ।