गण्डकीमा जडीबुटी उत्पादनमा १३५ प्रतिशतको छलाङ, कृषि र पर्यटनमा भने चुनौती
👤 सनस्टार संवाददाता |

**३० असोज, २०८३, **
**काठमाडौं** । गण्डकी प्रदेशमा औषधिजन्य जडीबुटी उत्पादन १३५.५४ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकको अध्ययनअनुसार आर्थिक वर्ष २०८२/८३ मा प्रदेशको आर्थिक वृद्धिदर ५.०१ प्रतिशत रहने अनुमान छ। प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २६.३, १८.४ र ५५.३ प्रतिशत रहने देखिएको छ।
गत आर्थिक वर्षमा प्रमुख कृषि बालीको क्षेत्रफल ४.६४ प्रतिशत र कुल उत्पादन २.६५ प्रतिशतले घटेको छ। दूध, मासु र अण्डा उत्पादनमा पनि गिरावट आएको छ। तर, कफी र मह उत्पादन क्रमशः ५२.६१ र ५२.६० प्रतिशतले बढेका छन्।
औद्योगिक क्षेत्रमा नमुना उद्योगको औसत उत्पादन क्षमता उपयोग ४६.५४ प्रतिशत पुगेको छ। बैंक तथा वित्तीय संस्थाको निक्षेप १८.७ प्रतिशतले बढेर सात खर्ब २६ अर्ब ६३ करोड रुपैयाँ पुगे पनि कर्जा प्रवाह १.९ प्रतिशतले मात्र वृद्धि भएको छ।
पर्यटन क्षेत्रमा होटलको संख्या बढे पनि अकुपेन्सी दर घटेर ३५.२७ प्रतिशतमा झरेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा २३ हवाई सेवा कम्पनीमार्फत १३ हजार २८१ उडान भएका छन्, जुन अघिल्लो वर्षभन्दा ६.२ प्रतिशत कम हो।
यसैबीच, कालीगण्डकी करिडोरको मालढुङ्गा–गैँडाकोट खण्डको भौतिक प्रगति ७३.१५ प्रतिशत र बेनी–जोमसोम खण्डको ६५ प्रतिशत पुगेको छ। मध्यपहाडी लोकमार्गका गोरखा–लमजुङ र कास्की–पर्वत–बागलुङ खण्डको प्रगति ८५ प्रतिशत रहेको अध्ययनमा उल्लेख छ।