**२ कार्तिक,२०८३** **काठमाडौं** । दसैँका लागि तीन हजार रुपैयाँको सामान खरिद गरेकी नुवाकोटकी सन्तमाया तामाङलाई भाग्यले छप्परफाड उपहार दिएको छ। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत तामाङले १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेकी हुन्। नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट दसैँको सपिङ गरेकी तामाङले खरिद गरेको सामानको मूल्य तीन हजार रुपैयाँ मात्रै थियो। तर, त्यही खरिद उनका लागि लाखौँ रुपैयाँको खुसी बनेर आएको छ। आन्तरिक राजस्व विभागका अनुसार असोज १६ गतेदेखि मसान्तसम्मको अवधिका लागि छनोट गरिएका १७ जना विजेतामध्ये तामाङले बम्पर पुरस्कार हात पारेकी हुन्। अन्य १६ जना विजेताले जनही एक लाख ३३ हजार ३३४ रुपैयाँ प्राप्त गर्ने भएका छन्। काठमाडौंको न्युरोडस्थित विशाल बजार परिसरमा आयोजित कार्यक्रममा वरिष्ठ कलाकार तथा निर्माता दीपकराज गिरी र दीपाश्री निरौलाले संयुक्त रूपमा विजेता छनोट तथा घोषणा गरेका थिए। करदाता प्रोत्साहन उपहार कार्यक्रमले उपभोक्तालाई खरिदको बिल लिन प्रोत्साहित गर्नुका साथै व्यवसायीलाई कारोबारको अभिलेख पारदर्शी बनाउन प्रेरित गर्ने उद्देश्य राखेको छ। यस कार्यक्रममार्फत सामान्य किनमेल गर्ने उपभोक्ताले पनि आकर्षक नगद पुरस्कार जित्ने अवसर पाएका छन्। तीन हजार रुपैयाँको दसैँ सपिङबाट १० लाख रुपैयाँ जितेकी सन्तमाया तामाङको खुसीले यसपटकको दसैँको किनमेललाई अविस्मरणीय बनाइदिएको छ।