पाकिस्तानमा स्कुलको छाना खस्दा ३५ को मृत्यु, ४० भन्दा बढी घाइते
👤 सनस्टार संवाददाता |

**२९ असोज २०८३**
**पोखरा** । पाकिस्तानको पेशावरस्थित एक निजी विद्यालयको छाना खस्दा ३५ जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी घाइते भएका छन्। बिहीबार दीर कोलोनिए क्षेत्रमा भएको दुर्घटनामा मृत्यु हुनेमध्ये ३४ जना विद्यार्थी र एक जना महिला शिक्षक रहेका छन्। मृतक सबै बालबालिका १३ वर्ष वा सोभन्दा कम उमेरका रहेको जनाइएको छ।
दुर्घटनामा घाइते भएकाहरूको उपचारका लागि अस्पतालमा आपतकाल घोषणा गरिएको छ। अस्पतालको ट्रमा वार्डमा चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई परिचालन गरी घाइतेहरूको उपचार भइरहेको छ।
दुर्घटनापछि विद्यालय परिसरमा ठूलो सङ्ख्यामा मानिसहरू भेला भएका थिए। छाना खस्दा भग्नावशेषमा अझै केही व्यक्ति च्यापिएको आशङ्कामा खोजी तथा उद्धार कार्य जारी रहेको छ। पाकिस्तानी सैनिकहरू पनि उद्धार तथा राहत टोलीलाई सहयोग गर्दै भग्नावशेषमा फसेका विद्यार्थी र विद्यालयका कर्मचारीलाई बाहिर निकालेर अस्पताल पुर्याउन खटिएका छन्।
**प्रधानमन्त्रीद्वारा दुःख व्यक्त**
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले दुर्घटनामा भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले मृतकका परिवारजनप्रति समवेदना प्रकट गर्दै यस कठिन घडीमा उनीहरूलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भनी प्रार्थना गरेका छन्।
प्रधानमन्त्री सरिफले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्बन्धित अधिकारीहरूलाई उनीहरूको उपचारका लागि उत्कृष्ट चिकित्सा सेवा उपलब्ध गराउन र खोजी तथा उद्धार कार्य तीव्र बनाउन निर्देशन दिएका छन्।
यसैगरी, खैबर पख्तूनख्वाका गभर्नर **फैसल करिम कुन्डी**ले पनि दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतक बालबालिकाका परिवारप्रति समवेदना प्रकट गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्बन्धित अधिकारीहरूलाई गुणस्तरीय उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएका छन्।
गभर्नर कुन्डीले विद्यालयको छाना खस्नुको कारण पत्ता लगाउन सम्बन्धित अधिकारीहरूसँग घटनाको विस्तृत प्रतिवेदन माग गरेका छन्।