युरोपका ६ देशमा फैलियो प्रदर्शन : इटालीमा स्कुल कब्जा, ग्रिसमा संसद्अघि धर्ना
👤 सनस्टार संवाददाता |

युरोपका ६ देशमा फैलियो प्रदर्शन : इटालीमा स्कुल कब्जा, ग्रिसमा संसद्अघि धर्ना
युरोपका ६ देशमा बढ्दो शैक्षिक खर्च, बेरोजगारी र महँगो आवासको विरोधमा प्रदर्शन तीव्र बनेको छ। फ्रान्समा प्रदर्शनकारीहरूले पसलहरूमा लुटपाट गरेका छन् भने कैयौँ सरकारी भवनहरूमा आगजनी गरेका छन्।
इटालीमा विद्यार्थीहरूले धेरै विद्यालयहरूमा कब्जा जमाएका छन्। ग्रिसमा विद्यार्थीहरूले होस्टेलको अभाव र बढ्दो भाडाको विरोधमा संसद् भवन अगाडि टेन्ट टाँगेर धर्ना दिएका छन्।
बेल्जियम र अल्बानियामा पनि प्रदर्शनका क्रममा हिंसा भएको छ र व्यापक धरपकड गरिएको छ।
फ्रान्समा विद्यालयहरूको जीर्ण अवस्था, शिक्षकहरूको अभाव र बढ्दो महँगीको विरोधमा १७ अक्टोबरमा १४० सहरहरूमा प्रदर्शन भएको छ।
करिब ८ लाख मानिस सडकमा उत्रिएका थिए, जसमा विद्यार्थी सङ्गठनका साथै ट्रेड युनियन र कर्मचारीहरू पनि सहभागी थिए।
पेरिस, मार्सेई र बोर्डोसहित कैयौँ सहरमा तोडफोड र लुटपाट भएको छ। लिमोजमा १४३ वर्ष पुरानो ऐतिहासिक सिटी हलमा आगो लगाइएको छ भने कैयौँ सवारीसाधन जलाइएका छन्।
१८ अक्टोबरसम्म करिब १८०० जनालाई पक्राउ गरिएको छ। त्यस्तै, ५०० भन्दा बढी प्रहरी, सुरक्षाकर्मी र दमकलकर्मी घाइते भएको खबर छ।
प्रधानमन्त्री सेबास्टियन लेकोर्नु र राष्ट्रपति इमानुएल म्याक्रोंले हिंसाको निन्दा गरेका छन्। सरकारले केही हिंसक समूहले शान्तिपूर्ण प्रदर्शनको फाइदा उठाएको बताएको छ।