एमाले बैठकमा पोखरेलले भने– ‘अध्यक्षलाई हटाउन खोजेको होइन’
👤 सनस्टार संवाददाता | 📅 2026-09-22

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफूले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाउने प्रयास गरेको भन्ने बुझाइ गलत भएको बताएका छन्।
ललितपुरमा जारी एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको दोस्रो दिन धारणा राख्दै महासचिव पोखरेलले पार्टी पुनर्गठन तथा ‘कोर्स करेक्सन’ सम्बन्धी सुझावलाई फरक ढंगले व्याख्या गरिएको बताएका हुन्।
बैठकमा सहभागी एक नेताका अनुसार पोखरेलले कार्यदलमा आएका सुझावका आधारमा पार्टी अब ‘कोर्स करेक्सन’तर्फ अघि बढ्नुपर्ने धारणा राखेको बताए। अध्यक्ष ओली र आफूबीच फाटो ल्याउने तथा दूरी बढाउने प्रयास भएको उनको भनाइ थियो।
पोखरेललाई उद्धृत गर्दै ती नेताले भने, “अध्यक्षले मैले हटाउन खोजेको रूपमा बुझ्नुभएछ। कार्यदलमा आएको सुझावका आधारमा अब सबैजना कोर्स करेक्सनमा जानुपर्छ भनेका हौँ। उहाँ र मेरो बीचमा फाटो ल्याउन खोजियो, दूरी बढाइयो।”
एमाले केन्द्रीय कमिटी बैठकको अध्यक्षता पार्टी अध्यक्ष ओलीले गरिरहेका छन्। बैठकको सुरुआतमा अध्यक्ष ओलीले पदाधिकारीहरूलाई आफ्ना धारणा राख्न समय दिएका थिए। प्रत्येक पदाधिकारीका लागि १५ मिनेट समय निर्धारण गरिएकोमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव पोखरेलले आफ्नो धारणा राखेका छन्।
हाल बैठकमा केन्द्रीय सदस्यहरूले वर्णानुक्रमअनुसार आफ्ना धारणा प्रस्तुत गरिरहेका छन्। केन्द्रीय सदस्यहरूका लागि तीन–तीन मिनेटको समय निर्धारण गरिएको छ।