राजनीति

१५औँ महाधिवेशनको तयारीबीच कास्की–१ सभापतिमा सरोज केसीको उम्मेदवारी घोषणा

👤 सनस्टार संवाददाता  |  📅 2026-09-23
१५औँ महाधिवेशनको तयारीबीच कास्की–१ सभापतिमा सरोज केसीको उम्मेदवारी घोषणा
१५औँ महाधिवेशनको तयारीबीच कास्की–१ सभापतिमा सरोज केसीको उम्मेदवारी घोषणा २०८३ असोज ७ , पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र भइरहेका बेला कास्की क्षेत्र नं. १ को सभापति पदमा युवा नेता सरोज केसीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत विभिन्न तहका अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ। कार्यतालिकाअनुसार प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा कार्यसमिति निर्वाचन असोज १० गतेका लागि तय गरिएको छ भने केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुने उल्लेख छ। यही महाधिवेशन प्रक्रियाको सन्दर्भमा कास्की क्षेत्र नं. १ मा सभापति पदका लागि केसीले उम्मेदवारी घोषणा गरेका हुन्। नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट राजनीतिक यात्रा सुरु गरेका केसी नेविसंघको केन्द्रीय सदस्य हुँदै कास्की कांग्रेस क्षेत्रीय सचिवको जिम्मेवारीसम्म पुगेका छन्। लामो समयदेखि पार्टी संगठनमा सक्रिय रहँदै आएका उनले कांग्रेसलाई जनतासँग अझ नजिक जोड्ने तथा जनताको आवाजलाई पार्टीभित्र प्रभावकारी रूपमा प्रस्तुत गर्ने उद्देश्यसहित आफूले निरन्तर काम गर्दै आएको बताएका छन्। पार्टीको १५औँ महाधिवेशनले नेतृत्व, संगठन र पुस्तान्तरणका विषयमा बहसलाई अघि बढाइरहेको सन्दर्भमा आफू पनि उक्त प्रक्रियाबाट अलग रहन नसकेको केसीको भनाइ छ। अग्रजहरूको मार्गदर्शन तथा साथीभाइको सुझाव, सल्लाह र हौसलाबाट उम्मेदवारी घोषणा गर्ने निर्णयमा पुगेको उनले बताएका छन्। केसीले कांग्रेस सभापति गगन थापाको नेतृत्वमा काम गर्ने अवसर तथा उहाँसँग सहकार्य गर्ने आफ्नो चाहना रहेको उल्लेख गरेका छन्। उनले आफ्नो उम्मेदवारीलाई केवल एउटा पदका लागि नभई पार्टी संगठनलाई थप सक्रिय, उत्तरदायी र जनमुखी बनाउने संकल्पका रूपमा प्रस्तुत गरेका छन्। “यो उम्मेदवारी केवल एउटा पदका लागि होइन, पार्टीलाई जनतासँग अझ बलियो रूपमा जोड्ने, युवाको आवाजलाई स्थान दिने र संगठनलाई थप सक्रिय तथा उत्तरदायी बनाउने संकल्प हो,” केसीले भनेका छन्। १५औँ महाधिवेशनको प्रक्रियासँगै कास्की क्षेत्र नं. १ मा पनि नेतृत्व चयनको तयारी अघि बढिरहेका बेला केसीको उम्मेदवारीले क्षेत्रीय नेतृत्वमा युवा सहभागिताको विषयलाई चर्चामा ल्याएको छ। केसीले क्षेत्र नं. १ का कांग्रेस नेता, कार्यकर्ता तथा शुभेच्छुकबाट आफ्नो उम्मेदवारीमा साथ, सुझाव र विश्वासको अपेक्षा गरेका छन्।