प्रथम शंकरपोखरी भलिबल कपको प्रथम पुरस्कार डा. पूर्णबहादुर कार्की द्वारा प्रायोजन हाल जापानमा कार्यरत डा. कार्कीद्वारा प्रथम पुरस्कार प्रायोजन, गाउँको खेलकुद विकासमा प्रवासबाट योगदान १७ कार्तिक २०८३ , फलेवास पर्बत शुभ दीपावलीको अवसरमा आयोजना हुन लागेको प्रथम शंकरपोखरी भलिबल कप–२०८३ लाई सफल बनाउन जापानमा कार्यरत सामाजिक, शैक्षिक तथा खेलप्रेमी व्यक्तित्व डा. पूर्णबहादुर कार्कीले नगद ५० हजार रुपैयाँ सहयोग गर्नुभएको छ। फलेवास नगरपालिका–३, सयमुरे निवासी हाल जापानमा रहनुभएका डा. कार्कीले प्रतियोगिताको प्रथम पुरस्कारका लागि उक्त रकम सहयोग गर्नुभएको आयोजक शंकरपोखरी युवा सर्कलले जनाएको छ। कार्कीको सहयोगप्रति आभार व्यक्त गर्दै आयोजकले उहाँलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ। गाउँको खेलकुद विकास, युवाको प्रतिभा पहिचान तथा खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा प्रवासमा रहेर पनि आफ्नो गाउँप्रतिको माया र सामाजिक उत्तरदायित्व प्रस्तुत गरेको भन्दै आयोजकले प्रशंसा गरेको छ। डा. कार्कीले राम मावि पोखराचौर तथा त्रिभुवन मावि शंकरपोखरीबाट विद्यालय शिक्षा हासिल गर्नुभएको हो। त्यसपछि जापानको प्रतिष्ठित विश्वविद्यालयबाट विद्यावारिधि (PhD) उपाधि हासिल गर्नुभएका उहाँ हाल पोस्टडक्टोरल अध्ययनरत (Postdoctoral Studies) रहेको युवा सर्कलका अध्यक्ष एबम प्रतियोगिता संयोजन बिनोद कुमार सुनारले बताउनु भयो । शैक्षिक क्षेत्रमा उच्च उपलब्धि हासिल गर्दै सामाजिक तथा शैक्षिक क्षेत्रमा समेत योगदान पुर्‍याउँदै आउनुभएका डा. कार्कीलाई आयोजकले शंकरपोखरी क्षेत्रकै गौरव र युवाका लागि प्रेरणाको स्रोतका रूपमा उल्लेख गरेको छ। आगामी २०८३ साल कार्तिक २०, २१ र २२ गते सञ्चालन हुने प्रतियोगिताले स्थानीय युवामा खेलकुदप्रतिको आकर्षण बढाउनुका साथै भलिबल खेलको विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। आयोजक शंकरपोखरी युवा सर्कलले डा. कार्की तथा उहाँको सम्पूर्ण परिवारप्रति हार्दिक आभार व्यक्त गर्दै उत्तरोत्तर प्रगति, सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेको छ