सूर्यतारा क्लबको नवौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन मंसिर २१ गते हुने
👤 सनस्टार संवाददाता |

सूर्यतारा क्लबको नवौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन मंसिर २१ गते हुने
खेलकुद महोत्सवदेखि सामाजिक सेवासम्म सक्रिय क्लबले स्थापना दिवसकै अवसरमा नयाँ नेतृत्व चयन गर्ने
पोखरा।
सूर्यतारा क्लब पोखराको नवौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन आगामी मंसिर २१ गते आयोजना हुने भएको छ। क्लबको स्थापना दिवसको अवसर पारेर साधारणसभा तथा अधिवेशन गर्न लागिएको क्लबको अध्यक्ष बिष्णु पुनले जानकारी दिए ।
‘सामाजिक परिवर्तनका लागि समृद्ध समाज हाम्रो परिकल्पना’ भन्ने मूल नारासहित २०७५ साल मंसिर २१मा स्थापित क्लबले स्थापना कालदेखि नै खेलकुद, सामाजिक सेवा, युवा सशक्तीकरण तथा सामुदायिक विकासका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। संस्था दर्ता ऐन, २०३४ अनुसार विधिवत् दर्ता भएको क्लबको कार्यालय पोखरा महानगरपालिका–२९ मा रहेको छ।
क्लबले विशेषगरी खेलकुदलाई युवाको प्रतिभा पहिचान, विकास र सामाजिक एकताको माध्यम बनाउँदै विभिन्न प्रतियोगिता तथा खेलकुद महोत्सव आयोजना गर्दै आएको छ। प्रारम्भिक चरणमा १केजि चादिको रनिङ्ग शिल्ड सहित भलिबल प्रतियोगिता आयोजना गरेको क्लबले पछिल्लो समय फुटबललगायत विभिन्न विधालाई समेटेर बृहत् खेलकुद महोत्सव सञ्चालन गर्दै आएको छ।
क्लब र नेपाल खेलकुद महासंघ गण्डकीको संयुक्त आयोजनामा २०८० चैतमा पहिलो सूर्यतारा (नेकोस) खेल महोत्सव आयोजना गरिएको थियो। पोखरा–२९ भण्डारढिकस्थित प्रस्तावित लेखनाथ रंगशालामा सञ्चालन भएको उक्त महोत्सवमा फुटबललाई मुख्य आकर्षण बनाउँदै विभिन्न खेलकुद गतिविधि समावेश गरिएको थियो।
त्यसैगरी २०८१ फागुन २४ देखि चैत २ गतेसम्म दोस्रो सूर्यतारा खेल महोत्सव आयोजना गरिएको थियो। प्रतियोगितामा फुटबलसँगै खुला सामूहिक लोकनृत्य, महिला स्लो स्कुटर रेस, राष्ट्रिय खुला महिला डोरीतान, टेबलटेनिस, एथलेटिक्स तथा जातीय संघसंस्थास्तरीय झाँकी प्रदर्शनलगायत कार्यक्रम समावेश थिए। दोस्रो संस्करणमा आयोजक सूर्यतारा क्लब आफैँ नेकोस कप फुटबलको फाइनलमा प्रवेश गरेको थियो।
२०८२ चैतमा आयोजित तेस्रो सूर्यतारा खेल महोत्सवले पनि क्लबको खेलकुद गतिविधिलाई निरन्तरता दिएको थियो। पोखरा–२९ भण्डारढिक खेलमैदानमा सञ्चालन भएको प्रतियोगितामा सेभेन ए साइड फुटबलसहित विभिन्न खेलकुद कार्यक्रम आयोजना गरिएका थिए। फुटबलतर्फ रामघाट एफसीले मिक्की एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो।
खेलकुदलाई पर्यटनसँग जोड्ने उद्देश्यले क्लबले ‘स्पोर्ट्स फर टुरिजम’ अवधारणालाई समेत अघि सारेको छ। खेलकुद प्रतियोगितामार्फत स्थानीय खेलाडीको प्रतिभा उजागर गर्ने, युवालाई खेलकुदमा आकर्षित गर्ने तथा स्थानीय क्षेत्रको पहिचान र पर्यटन प्रवर्द्धन गर्ने क्लबको लक्ष्य रहेको क्लबका सचिब सरस्वती श्रेष्ठले बताईन ।
खेलकुदका अतिरिक्त क्लबले सामाजिक सेवा, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा सामाजिक सद्भाव अभिवृद्धिका क्षेत्रमा पनि काम गर्दै आएको छ। विभिन्न समुदाय, जातजाति तथा संघसंस्थालाई साझा मञ्चमा जोड्ने र स्थानीय कला तथा संस्कृतिको संरक्षण गर्ने उद्देश्यलाई क्लबले आफ्ना गतिविधिमा प्राथमिकता दिँदै आएको छ।
यसैबीच, क्लबले चौथो सूर्यतारा खेलकुद तथा सांस्कृतिक महोत्सव–२०८३ आगामी मंसिर १९ देखि २१ गतेसम्म पोखरा महानगरपालिका–२७ मा आयोजना गर्ने तयारी गरेको छ। महोत्सवमा खुला फुटसल, जातीय तथा सांस्कृतिक संघसंस्थाका झाँकी, भजन प्रतियोगिता, स्लो स्कुटर रेस र डोरीतान प्रतियोगितालगायत कार्यक्रम समावेश गरिएका छन्। महोत्सवको अन्तिम दिन नै क्लबको स्थापना दिवस, नवौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन आयोजना हुन लागेको हो।
साधारणसभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा आगामी कार्ययोजनामाथि छलफल हुनेछ। त्यसैगरी चौथो अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै संस्थाको भावी कार्यदिशा तय गर्नेछ।
क्लबका आगामी योजनामा खेलकुद गतिविधिलाई थप व्यवस्थित र नियमित बनाउने, स्थानीयस्तरमा खेलाडी उत्पादन तथा प्रोत्साहन गर्ने, सामाजिक सेवाका कार्यक्रम विस्तार गर्ने र समुदायसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउने विषय प्राथमिकतामा रहने क्लबका कोषाध्यक्ष बिष्णुहरि भुगाईले बताए ।
स्थापना दिवसकै अवसरमा खेलकुद, संस्कृति र सामाजिक सेवाका गतिविधिलाई एकैसाथ जोड्दै साधारणसभा तथा अधिवेशन आयोजना गर्न लागिएको क्लबका सहसचिब कपिलबाबु भण्डारीले बताए ।