अटिजम भएका बालबालिकाका लागि विद्यालय र अनुसन्धान केन्द्र बन्दै
👤 सनस्टार संवाददाता |

**१० मंसिर ,२०८३**
**काठमाडौं**, । अटिजम भएका बालबालिकालाई शिक्षाको मूलधारमा जोड्दै उनीहरूको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित काठमाडौं महानगरपालिकाले विद्यालय तथा अनुसन्धान केन्द्रको भवन निर्माण सुरु गरेको छ। विशेष आवश्यकता भएका बालबालिकाको शिक्षा र विकासलाई प्राथमिकता दिँदै महानगरले वडा नम्बर २९ मा पाँचतले भवन निर्माण अघि बढाएको हो।
महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बुधबार अभिभावक, बालबालिका तथा जनप्रतिनिधिको उपस्थितिमा भवनको शिलान्यास गरेकी हुन्। ९ करोड ७७ लाख ४५ हजार रुपैयाँको लागतमा निर्माण हुने भवन २०८४ चैत मसान्तभित्र सम्पन्न गर्ने महानगरको लक्ष्य छ।
कुल १८ हजार ५०० वर्गफिट क्षेत्रफलमा निर्माण हुने भवनमा तालिम तथा प्रशिक्षण कक्ष, प्रशासनिक कक्ष र अनुसन्धान कक्षलगायत आवश्यक संरचना रहनेछन्। भवन निर्माण सम्पन्न भएपछि अटिजम भएका बालबालिकाको शिक्षासँगै उनीहरूको व्यक्तिगत क्षमता विकास, सीप अभिवृद्धि तथा अध्ययन अनुसन्धानका लागि आवश्यक वातावरण तयार हुने महानगरको अपेक्षा छ।
शिलान्यास कार्यक्रममा कार्यवाहक प्रमुख डंगोलले अटिजम भएका बालबालिकालाई समान अवसर र गुणस्तरीय शिक्षा प्रदान गर्न महानगरपालिकाले विशेष कार्यक्रम अघि बढाएको बताइन्। भवन निर्माण सम्पन्न हुँदासम्म विद्यालय सञ्चालनसम्बन्धी कार्यविधि तयार गरिने उनको भनाइ छ।
महानगरपालिकाका अनुसार प्रस्तावित केन्द्रबाट अटिजम भएका बालबालिकाको ज्ञान तथा सीप विकासका लागि तालिम र प्रशिक्षण सञ्चालन गरिनेछ। साथै, उनीहरूको अवस्थाबारे अध्ययन अनुसन्धान गर्ने तथा अभिभावकलाई आवश्यक सहयोग उपलब्ध गराउने लक्ष्य राखिएको छ।
विशेष आवश्यकता भएका बालबालिकाको शिक्षालाई केवल कक्षाकोठामा सीमित नराखी उनीहरूको क्षमता पहिचान, विकास र सामाजिक सहभागितासँग जोड्ने महानगरको यो पहललाई महत्वपूर्ण मानिएको छ। भवन निर्माणसँगै विद्यालय सञ्चालनको तयारीसमेत अघि बढाइने भएकाले आगामी दिनमा अटिजम भएका बालबालिकाले लक्षित शैक्षिक सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।
भवन निर्माण सम्पन्न भएपछि विद्यालय तथा अनुसन्धान केन्द्रले बालबालिकाको शिक्षा, सीप विकास र अभिभावक सहयोगलाई एकीकृत रूपमा अघि बढाउनेछ। यसले अटिजम भएका बालबालिकाका लागि समावेशी र गुणस्तरीय शिक्षाको अवसर विस्तार गर्न सहयोग पुग्ने महानगरको विश्वास छ।