३५ दिने अल्टिमेटम सकिँदै, वैदेशिक रोजगार ठगीका फरार आरोपितको बैंक खाता रोक्का गरिने
👤 सनस्टार संवाददाता |

२२ मंसिर, काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने र पक्राउ पुर्जी जारी हुँदासमेत फरार रहेका व्यक्तिमाथि सरकारले आर्थिक नियन्त्रणको कदम चाल्ने भएको छ। विभागले दिएको ३५ दिने अल्टिमेटम सकिन लाग्दा पनि सम्पर्कमा नआउने आरोपितको बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढाइने भएको हो।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा फरार रहेका व्यक्तिहरूको बैंक खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।
वैदेशिक रोजगार विभागले गत कात्तिक ९ गते सार्वजनिक सूचना जारी गर्दै ठगीसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका व्यक्तिहरूलाई ३५ दिनभित्र विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउन आग्रह गरेको थियो। तोकिएको समयभित्र सम्पर्कमा नआए बैंक खाता तथा यात्रा अनुमतिसम्बन्धी प्रक्रिया रोक्का गरिने चेतावनीसमेत विभागले दिएको थियो।
विभागको सूचनाअनुसार म्यादभित्र उपस्थित नभएका व्यक्तिहरूको विवरण संकलन गरी बैंक खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरिनेछ। यसका लागि आगामी मंसिर १४ गते राष्ट्र बैंकलाई औपचारिक पत्र पठाउने तयारी गरिएको मन्त्री यादवले बताएका छन्।
विभागले सम्बन्धित शाखालाई फरार आरोपितहरूको सूची तयार गरी राष्ट्र बैंकमा पठाउने प्रक्रिया अघि बढाउन निर्देशनसमेत दिएको छ। सूची प्राप्त भएपछि सम्बन्धित व्यक्तिहरूको बैंक खाता रोक्का गर्ने प्रक्रिया अगाडि बढ्नेछ।।
सरकारको यो कदमले वैदेशिक रोजगारीका नाममा ठगी गरी फरार हुनेहरूलाई आर्थिक रूपमा दबाब सिर्जना गर्नुका साथै कानुनी प्रक्रियामा ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। ठगीमा संलग्न व्यक्तिहरूको आर्थिक कारोबार नियन्त्रणमा आएपछि उनीहरूलाई कानुनी दायरामा ल्याउने र पीडितलाई न्याय दिलाउने प्रयास थप प्रभावकारी हुने मन्त्रालयको विश्वास छ।
वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई ठगीबाट जोगाउने, पीडितको रकम फिर्ता गराउने तथा ठगीमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउने उद्देश्यले मन्त्रालय र विभागले प्रक्रिया अघि बढाएका हुन्।
फरार आरोपितलाई सम्पर्कमा आउन दिइएको ३५ दिने समयसीमा सकिएसँगै अब उनीहरूको आर्थिक कारोबार नियन्त्रण गर्ने प्रक्रिया अघि बढ्ने भएको छ।