वैदेशिक रोजगारीमा बदलिँदो गन्तव्यः नयाँ कामदारमा साउदीलाई रोमानियाले तीन गुणाले उछिन्यो
👤 सनस्टार संवाददाता |

**६ मंसिर २०८३**
**काठमाडौं**। वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरूको परम्परागत गन्तव्यको नक्सा बिस्तारै फेरिन थालेको छ । खाडी मुलुक र मलेसियामा सीमित नेपाली श्रम बजारको आकर्षण पछिल्लो समय युरोपेली मुलुकतर्फ तीव्र रूपमा सोझिएको देखिएको छ ।
वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको कात्तिक महिना (अक्टोबर १८ देखि नोभेम्बर १६) को तथ्याङ्कले श्रम गन्तव्यमा आएको यो रोचक र महत्त्वपूर्ण फेरबदललाई पुष्टि गरेको छ । विभागका अनुसार कात्तिक महिनामा पहिलो पटक श्रम स्वीकृति (नयाँ) लिएर रोजगारीमा जाने कामदारको सङ्ख्यामा युरोपेली मुलुक रोमानियाले खाडीको प्रमुख गन्तव्य साउदी अरबलाई करिब तीन गुणाले पछि पारेको छ ।
तथ्याङ्कअनुसार कात्तिकमा १ हजार ६५४ जना नेपाली युवा पहिलो पटक श्रम स्वीकृति लिएर रोमानिया उड्दा साउदी अरब जाने नयाँ कामदारको सङ्ख्या ५५२ जनामा सीमित भएको छ । रोमानिया जाने कुल २ हजार ५८७ जनामध्ये १ हजार ६५४ जना नयाँ र ९३३ जना पुनः श्रम स्वीकृति (बिदामा आएर फर्कने) लिएका कामदार छन् ।
रोचक पक्ष के छ भने, रोमानिया जाने शतप्रतिशत नयाँ कामदारले व्यक्तिगत प्रयासमा श्रम स्वीकृति लिएका हुन् ।
अर्कोतर्फ, साउदी अरबका लागि कुल ६ हजार ९८९ जनाले श्रम स्वीकृति लिए पनि त्यसको करिब ९२ प्रतिशत अर्थात् ६ हजार ४३७ जना पुरानै कामदार (पुनः श्रम स्वीकृति) रहेका छन् । यसले साउदीमा नयाँ अवसर खुम्चिएको वा कामदारको रोजाइमा युरोप परेको सङ्केत गर्छ ।
**युरोपका ३५ मुलुकमा साढे सात हजार बढीको उडान**
राम्रो पारिश्रमिक र सुरक्षित श्रम वातावरणको खोजीमा रहेका नेपालीहरूका लागि युरोप मुख्य आकर्षण बन्दै गएको छ । कात्तिक महिनामा मात्रै युरोपका ३५ वटा मुलुकका लागि कुल ७ हजार ९४० जनाले श्रम स्वीकृति लिएका छन्, जसमा ४ हजार ४४० जना पहिलो पटक युरोप छिर्ने नयाँ कामदार हुन् ।
युरोपेली गन्तव्यमा रोमानियापछि क्रोएसिया (१ हजार ३९), माल्टा (७९३), साइप्रस (७०९), बुल्गेरिया (५१७) र सर्बिया (४५४) नेपाली श्रमिकको प्रमुख रोजाइमा परेका छन् । यस्तै, पोल्यान्डका लागि ३१३, बेलायतका लागि २८० र पोर्चुगलका लागि २४८ जनाले श्रम स्वीकृति लिएको विभागको विवरणमा उल्लेख छ । युरोप र एसियाको सङ्गम मानिने टर्कीका लागि छुट्टै १ हजार १३७ जनाले स्वीकृति लिएका छन्, जसमा १ हजार ४४ जना नयाँ कामदार छन्।
**कात्तिकमा कुल ६५ हजार ८०८ जना बाहिरिए**
विभागले मंसिर २ गते सार्वजनिक गरेको विवरणअनुसार कात्तिक १ देखि ३० गतेसम्म कुल ६५ हजार ८०८ जना नेपाली रोजगारीका लागि बिदेसिएका छन् । जसमा ५६ हजार २९५ पुरुष र ९ हजार ५१३ महिला छन् ।
कुल श्रम स्वीकृति लिनेमध्ये ३९ हजार १४८ जना पुरानै गन्तव्यमा फर्किएका कामदार हुन् भने २६ हजार ६६० जना पहिलो पटक वैदेशिक रोजगारीमा जानेहरू छन् । नयाँ जानेमध्ये म्यानपावर कम्पनीमार्फत १६ हजार ६४३, व्यक्तिगत श्रम स्वीकृतिमार्फत ९ हजार ४७०, सरकारी स्तरको सम्झौता (जीटुजी) बाट ५२५ र वैधानिकीकरणमार्फत २२ जना रहेका छन् ।
**समग्र हिस्सामा खाडीकै वर्चस्व कायमै**
नयाँ कामदारको आकर्षण युरोपतर्फ मोडिए पनि कुल सङ्ख्याका आधारमा भने खाडी मुलुककै वर्चस्व कायमै छ । कात्तिकको कुल श्रम स्वीकृतिमध्ये करिब ६६ प्रतिशत अर्थात् ४३ हजार २७५ जना खाडीका ६ मुलुक (यूएई, कतार, साउदी अरब, कुवेत, ओमान र बहराइन) का लागि जारी भएको छ ।
एकल गन्तव्य मुलुकको हिसाबमा संयुक्त अरब इमिरेट्स (यूएई) पहिलो नम्बरमा छ । यूएईका लागि कुल २० हजार ३२९ जनाले श्रम स्वीकृति लिएका छन्, जसमा ९ हजार ९२४ जना नयाँ कामदार हुन् । दोस्रो स्थानमा रहेको कतारका लागि ९ हजार ५३८, मलेसियाका लागि ८ हजार ७६८, साउदी अरबका लागि ६ हजार ९८९ र कुवेतका लागि ४ हजार ५६६ जनाले श्रम स्वीकृति लिएका छन् । पूर्वी एसियाली विकसित मुलुकतर्फ जापानका लागि १ हजार ८२५ र दक्षिण कोरियाका लागि ७७५ जनाले श्रम स्वीकृति लिएका छन् ।