इनम प्रकरणले रक्षात्मक बनेका थापा रणनीति परिवर्तन गरेर ओलीलाई भेट्न गए काठमाडौं नेपाली कांग्रेस सभापति गगनकुमार थापाले २३ र २४ भदौ २०८२ को जेन–जी विद्रोहपछि पहिलोपटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । थापाले मंगलबार ओलीनिवास गुण्डु पुगेर झन्डै एक घण्टा संवाद गरेका हुन् । उक्त संवादको विस्तृत विवरण दुवैपक्षबाट सार्वजनिक भइसकेको छैन । ओलीसँग मधेश प्रदेश सरकार, गण्डकी प्रदेश सरकार र पछिल्ला दिनमा विकसित राजनीतिक घटनाक्रमकै सेरोफेरोमा कुराकानी भएको थापानिकट स्रोतले उल्लेख गरेको छ । एमालेको असहयोगपछि कांग्रेसले नेतृत्व गरेका मधेश र गण्डकी प्रदेश सरकार ढल्ने अवस्थामा छन् । यसैबीच बिचौलिया इनम सापकोटाको बयान भनिएको अडियो प्रकरणले थापामाथि गम्भीर प्रश्न उठाएको छ । यी सन्दर्भमा थापा एमाले अध्यक्ष ओलीलाई भेट्न गुण्डु पुगेका हुन् । कांग्रेस स्रोतले थापाको भेट रणनीतिक र बाध्यात्मक दुवै भएको उल्लेख गरेको छ । केही महिनाअघि एमालेले कांग्रेससँगको सहकार्य तोडेर प्रदेश सरकारहरू नेकपासँग जोडियो । त्यतिबेला थापाले सरकार नजोगिए पनि हुन्छ, एमालेसँग सहकार्य नगर्ने नीति लिए । त्यसैकारण कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारबाट कांग्रेस बाहिरियो । मधेश र गण्डकी प्रदेशका मुख्यमन्त्री हटाउन भने अंकगणितका कारण एमाले र नेकपालाई सकस परेको थियो । अहिले प्रदेश सरकारहरूमध्ये गण्डकी र मधेशबाहेक सबैतिर कांग्रेस सत्ताबाहिर रहेको छ । सर्वोच्च अदालतले कांग्रेसको महाधिवेशनकै बेला दीर्घकालीन महत्त्वका निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो । पाण्डे सरकारविरुद्ध एमालेले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । गण्डकी मात्र होइन, मधेश प्रदेश सरकारमा पनि समस्या आएको थियो । कांग्रेसका कृष्ण यादव मुख्यमन्त्री थिए । उनको सरकारको विकल्प खोज्न एमाले, जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टी सक्रिय हुन थालेका थिए । उनीहरूले छठपछि सरकार परिवर्तन गर्ने तयारी गरिरहेका छन् । प्रदेशमा कांग्रेसको सरकार ढाल्ने रणनीति सक्रिय भएको बेला काठमाडौंमा थापामाथि अर्को प्रहार भयो । इनम सापकोटाको बयान भन्दै थापाले विशेष महाधिवेशनबाट कांग्रेसको आधिकारिकता लिन आर्थिक चलखेल गरेको आरोप लाग्यो । थापाले विशेष महाधिवेशनबाट कांग्रेसको वैधानिकता लिनका लागि सर्वोच्च अदालतका न्यायाधीशलाई १८ करोड खर्च गरेको आरोप लाग्यो । उक्त प्रसंगसहितको सापकोटाको बयान भनिएको अडियो सार्वजनिक भएको छ । त्यसले थापालाई रक्षात्मक बनाएको छ । उक्त बयानको वास्तविकता बाहिर आएको छैन । तर, थापामाथि गम्भीर नैतिक प्रश्न भने उठाएको छ । केही दिनयता प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र उनीनिकटहरूको सार्वजनिक अभिव्यक्ति र गतिविधिले पनि गम्भीर प्रश्न उठाएका थिए । सञ्चारगृहमा पत्रकार पक्राउ गर्न प्रहरी पठाउनेदेखि सर्वोच्च अदालतका न्यायाधीशलाई महाअभियोग लगाउनेसम्मका प्रयासहरू भइरहेका छन् । यहीबीचमा थापामाथि आरोप लागेको हो । त्यसैले थापा अहिले रक्षात्मक अवस्थामा रहेका देखिन्छन् । प्रधानमन्त्री बालेनले गत आइतबार फेसबुक स्टाटसमा ‘सही समय आएपछि, सबैको गलत समय आउँछ, एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ’ लेखेका थिए । त्यसको संकेत कसलाई र के सन्दर्भमा हो भन्ने स्पष्ट छैन । तर, त्यसलगत्तै थापाले कांग्रेसको आधिकारिकताका लागि १८ करोड खर्चिएको आरोप बजारमा आयो र सर्वोच्चका न्यायाधीश पनि जोडिए । त्यसपछि नै थापाले सामाजिक सञ्जालमा लेखे, ‘अहिले ठीक १८:०० बजेको छ । तर्साउने धेरै आए, तर्सिने बानी परेन ।’ थापाको स्टाटस खासमा बालेनलाई जवाफ हो भन्ने अर्थमा व्याख्या गरिएको थियो । इनम प्रकरणले रक्षात्मक बनेका थापा रणनीति परिवर्तन गरेर ओलीलाई भेट्न गएको अर्थमा हेरिएको छ । त्यसै पनि थापा सरकारविरुद्ध उभिनेभन्दा समन्वय र सहकार्यको रणनीतिमै थिए । तर, सरकारपक्ष नै आफूलाई बदनाम गर्न लागेको बुझाइमा थापा देखिएका छन् । त्यसपछि उनले विगतको आफ्नो अडान परिवर्तन गरेको देखिन्छ ।