सूर्यतारा क्लबको चौथो खेलकुद तथा सांस्कृतिक महोत्सवमा भजन प्रतियोगिता हुने
👤 सनस्टार संवाददाता |

सूर्यतारा क्लबको चौथो खेलकुद तथा सांस्कृतिक महोत्सवमा भजन प्रतियोगिता हुने
पर्यटन, खेलकुद र संस्कृतिको प्रवर्द्धनसँगै धार्मिक तथा सांस्कृतिक पर्यटनलाई जोड दिने क्लबका अध्यक्ष बिष्णु पुनले बताए
पोखरा ।
सूर्यतारा क्लब पोखराको आयोजनामा हुने चौथो सूर्यतारा खेलकुद तथा सांस्कृतिक महोत्सव–२०८३ मा खुल्ला भजन प्रतियोगिता आयोजना हुने भएको छ। पर्यटन, खेलकुद र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका कार्यसमिति सचिब सरस्वती श्रेष्ठले बताइन ।
‘सामाजिक परिवर्तनको लागि समृद्ध समाज हाम्रो परिकल्पना’ भन्ने मूल नाराका साथ स्थापित क्लबले मंसिर १९ देखि २१ गतेसम्म पोखरा महानगरपालिका वडा नम्बर २७ मा महोत्सव आयोजना गर्दैछ। महोत्सवअन्तर्गत विभिन्न खेलकुद तथा सांस्कृतिक गतिविधिसँगै खुल्ला भजन प्रतियोगिता सञ्चालन गरिने क्लबका कोषाध्यक्ष एबम भजन प्रतियोगिता संयोजक बिष्णुहरि भुगाइले बताए।
क्लबका अध्यक्ष बिष्णु पुनको अनुसार भजन प्रतियोगिताले नेपाली मौलिक कला, संस्कृति, धार्मिक परम्परा र संगीतको संरक्षण तथा प्रवर्द्धनमा सहयोग पुर्याउने विश्वास गरिएको बताए । स्थानीय तथा राष्ट्रियस्तरका भजन समूहलाई सहभागी गराएर सांस्कृतिक प्रतिभाको पहिचान र प्रोत्साहन गर्ने लक्ष्य रहेको उनको भनाइ छ।
क्लबले पोखराको पर्यटन प्रवर्द्धनमा खेलकुद र संस्कृतिलाई जोड दिनुपर्ने आवश्यकता औँल्याउँदै महोत्सवले स्थानीय पर्यटन, सामाजिक सद्भाव र सामुदायिक सहभागिता बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेको छ। धार्मिक तथा सांस्कृतिक कार्यक्रममार्फत पोखराको मौलिक पहिचानलाई थप उजागर गर्न सकिने क्लबका सल्लाहकार सन्दिप कोइरालाको भनाइ छ।
महोत्सवमा खुल्ला फुटसल, जातीय संघसंस्थाका झाँकी, भजन, स्लो स्कुटर रेस तथा डोरीतान प्रतियोगितालगायतका गतिविधि सञ्चालन हुनेछन्। खेलकुद र सांस्कृतिक कार्यक्रमलाई एउटै उत्सवमा समेटेर युवाको सहभागिता बढाउने तथा स्थानीय प्रतिभालाई अवसर प्रदान गर्ने उद्देश्य रहेको अध्यक्ष पुनले बताए ।
खुल्ला भजन प्रतियोगितामा सहभागी हुन टिम दर्ता शुल्क ५०० रुपैयाँ तोकिएको छ। प्रतियोगितामा प्रथम हुने समूहले ३३ हजार ३३३ रुपैयाँ र द्वितीय हुने समूहले २२ हजार २२२ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। टिम दर्ताको अन्तिम मिति मंसिर १७ रहेको छ । प्रतियोगिता पोखरा–२७, तालचोकस्थित काइट्स स्पोर्ट्समा सञ्चालन हुनेछ।
क्लबले महोत्सवलाई सफल बनाउन स्थानीय संघसंस्था, व्यवसायी, खेलप्रेमी, कलाकार, भजन समूह तथा सर्वसाधारणलाई सहभागिता र सहयोगका लागि आग्रह गरेको छ ।