एन्फामा भएको आर्थिक अनियमितता तथा ठगी मुद्दामा सुनुवाइ सुरु काठमाडौँ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता तथा ठगी मुद्दामा ललितपुर जिल्ला अदालतमा सुनुवाइ सुरु भएको छ ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राई अदालतमा उपस्थित भएर बयान दिएपछि न्यायाधीश हरिसिंह धामीको इजलासमा बुधबार सुनुवाइ सुरु भएको हो । फरार सूचीमा रहेका दुवै जनाले बयान दिएपछि सुनुवाइ सुरु भएको ललितपुर जिल्ला अदालतका प्रवक्ता टिकाध्वज कार्कीले जानकारी दिए । उनीहरू दुवै बुधबार बयानका लागि अदालतमा हाजिर भएका हुन् ।   नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीहरू दुई जनासहित कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेविरुद्ध अनुसन्धानपछि गत असोज २२ गते जिल्ला अदालत, ललितपुरमा मुद्दा दर्ता गरेको थियो। चारै जनाविरुद्ध राष्ट्रिय खेलकुद विकास ऐन, २०७७  अन्तर्गतको खेलमा मिलेमतो तथा अनियमितता गर्न नहुने कसुर तथा मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगी सम्बन्धी कसुर आरोप छ । चार जनामध्ये कोषाध्यक्ष जोशी र लेखा अधिकृत पाण्डे भने क्रमशः १५ लाख र १२ लाख धरौटीमा रिहा भइसकेका छन् । अध्यक्ष र महासचिव भने मुद्दा दायरपछि फरार रहँदै आएका थिए । फिफा विश्वकप २०२६ छनोट अन्तर्गत सन् २०२४ मार्च २१ मा नेपालको घरेलु मैदान (दशरथ रङ्गशाला) मा हुनुपर्ने खेल बहराइनमा सारिएको थियो । रङ्गशालाको मैदान संरक्षण नगरी गैर–अन्तर्राष्ट्रिय कार्यक्रमहरू सञ्चालन गर्न दिएर मैदानलाई अयोग्य बनाइएको र त्यसपछि बहराइनसँग मिलेमतो गरी ‘होम म्याच’ उतै खेल्ने सम्झौता गरिएको दाबी छ । त्यस्तै टिकट बिक्री बापत बहराइनले एन्फालाई उपलब्ध गराउनुपर्ने २० हजार अमेरिकी डलर (करिब २६ लाख ४७ हजार रुपैयाँ) एन्फाको आधिकारिक बैंक खातामा दाखिला नगरी अपचलन गरिएको अभियोग थियो । सो खेलमा नेपाल ५–० र ३–० गोल अन्तरले पराजित भएको थियो। एन्फाको आर्थिक कार्यविधि विपरीत १० लाखभन्दा माथिको खरिदमा खुला बोलपत्र (टेन्डर) आह्वान नगरी मिलेमतोमा कोटेशनमार्फत सामान खरिद गरिएको पाइएको छ।  एएफसीको ‘एक्स्ट्रा टाइम प्रोजेक्ट’ अन्तर्गत ५० हजार अमेरिकी डलर अर्थात् ६६ लाख ५३ हजार ९०० रुपैयाँ को खेलकुद सामग्री खरिद गर्दा एउटै स्वामित्व भएका तीन वटा कम्पनीहरूबाट प्रतिस्पर्धा देखाएर स्वीकृत लागत अनुमानभन्दा बढी दररेटमा सामान खरिद गरी संस्थालाई हानि पुर्‍याइएको दाबी गरिएको छ।