**११ कार्तिक २०८३** **पोखरा**। नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै फूलको बजार तात्न थालेको छ। यस वर्ष तिहारमा करिब ५२ लाख माला खपत हुने र झन्डै ४८ करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले स्वदेशी उत्पादनले बजारको माग धान्ने दाबी गरे पनि आयातको दबाब भने कायमै छ। फ्यानका अनुसार तिहारमा सबैभन्दा बढी ४५ लाख सयपत्री माला खपत हुने अनुमान छ। त्यस्तै, ६ लाख मखमली, २० हजार गोदावरी र ६० हजार मिश्रित माला बिक्री हुने अपेक्षा गरिएको छ। स्वदेशमै फूलखेती विस्तार हुँदै गए पनि व्यवस्थित बजार, ढुवानी र शीतभण्डारको अभावले किसानले अपेक्षित लाभ लिन सकेका छैनन्। हाल नेपालका ५४ जिल्लामा करिब २५० हेक्टर क्षेत्रफलमा व्यावसायिक पुष्पखेती हुँदै आएको छ। यस क्षेत्रमा १ हजार १४५ भन्दा बढी व्यवसायी संलग्न छन् भने ५० हजारभन्दा बढीले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएका छन्। आर्थिक वर्ष २०८२/८३ मा पुष्प व्यवसायको वार्षिक कारोबार ३ अर्ब २७ करोड रुपैयाँ पुगेको छ। तर, स्वदेशी उत्पादन बढ्दै जाँदा पनि आयात घट्न सकेको छैन। भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा पुष्प तथा पुष्पजन्य वस्तुको आयात ४०.८६ प्रतिशतले बढेर २८ करोड २३ लाख रुपैयाँभन्दा बढी पुगेको छ। यसले स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउन बजार व्यवस्थापन र सरकारी संरक्षण आवश्यक रहेको देखाउँछ। यसैबीच, स्वदेशी फूलको प्रवर्द्धन र व्यापार विस्तार गर्ने उद्देश्यले कात्तिक १२ देखि १६ गतेसम्म ललितपुरको जावलाखेलमा १९औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी तथा व्यापार मेला आयोजना हुँदैछ। मेलामा ८८ वटा प्रदर्शनी कक्ष रहने, ४५० प्रजातिका फूल तथा बिरुवा प्रदर्शन गरिने र करिब ३ करोड रुपैयाँको कारोबार हुने आयोजकको अपेक्षा छ। उत्पादन बढाएर मात्र पुग्दैन, किसानले उत्पादन गरेको फूल सुरक्षित रूपमा बजारसम्म पुर्‍याउने व्यवस्था पनि उत्तिकै आवश्यक छ। शीतभण्डार, सहज ढुवानी, गुणस्तरीय बीउबिजन र प्रभावकारी बजार सञ्जालको विकास गर्न सके तिहारको फूल व्यापारले स्वदेशी किसानको आम्दानी बढाउनुका साथै आयातमा बाहिरिने रकमसमेत रोक्न सक्नेछ।