पौडेल-पोखरेलको संकल्पः अबदेखि ओलीविरूद्ध लाग्दैनौँ २०८३ कार्तिक ११, काठमाडौं एमालेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व र पार्टी पुनर्गठनको विषय साम्य बनाउनेगरी अभिव्यक्ति दिएका छन्। केन्द्रीय कार्यालय च्यासलमा राष्ट्रिय भेलाको तयारीका लागि मंगलबार बसेको बैठकमा दुबै नेताले अब नेतृत्वको विषय नउठाउने संकेत गरेका हुन्। दुवै नेताले पार्टीको आन्तरिक एकता सुदृढ गर्दै आगामी स्थानीय तहको निर्वाचनमा पार्टीको प्रभाव र सामर्थ्य प्रदर्शन गर्नुपर्नेमा पनि जोड दिएका छन्। बैठकमा उपाध्यक्ष पौडेलले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा भएको लज्जास्पद पराजयलाई क्षणिक र अस्थायी धक्काका रूपमा लिनुपर्ने बताए। आगामी स्थानीय तहको निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाउनेगरी तयारी गर्नुपर्नेमा पनि उनले जोड दिए। यद्यपि, अहिलेको बालेन्द्र शाह नेतृत्वको सरकारले जनताको पक्षमा काम नगरेको भन्दै सडक आन्दोलन र निर्वाचन दुवैका लागि तयार रहनुपर्नेमा उनको जोड थियो। ‘सडकमा जानुपर्दा सडकको तयारी र निर्वाचनमा जानुपर्दा निर्वाचनकै तयारीका साथ अघि बढ्नुपर्छ,’ पौडेलले बैठकमा भने। निर्वाचन परिणामपछि एमालेभित्र नेतृत्वको कार्यशैली, संगठनको अवस्था र भावी नेतृत्वबारे बहस उठेको छ। यही पृष्ठभूमिमा पौडेलले आन्तरिक एकतालाई जोड दिएका हुन्। एमालेले आगामी मंसिरमा गर्न लागेको राष्ट्रिय भेलामा यस विषयबारे छलफल गर्नुपर्ने पनि उनले बताए। ‘पार्टीको आन्तरिक जीवन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति र जनजीविकाका सवालमा पार्टी पङ्क्तिमा एउटै बुझाइ र लय विकास गर्नु राष्ट्रिय भेलाको मुख्य उद्देश्य हुनुपर्छ,’ उनलेभ भने, ‘केन्द्रीय कमिटीको तेस्रो बैठकले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने निर्णय गरिसकेको छ। अब हामी ती निर्णयका आधारमा नेता–कार्यकर्तालाई उत्साहित बनाउँदै स्थानीय निर्वाचनको तयारीमा जुटाउनुपर्छ।’ यस्तै, महासचिव पोखरेलले राष्ट्रिय भेलालाई सफल बनाउन समग्र पार्टी पंक्ति परिचालित हुनुपर्ने बताए। उनले एकताबद्ध भएको सन्देश जनस्तरसम्म पुर्‍याउन आग्रह गरेका छन्। बैठकको अध्यक्षता गरेका पार्टी सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालले राष्ट्रिय भेलाको तयारीबारे जानकारी गराएका थिए। उनले मंसिर २ र ३ गते हुने कार्यक्रममा ३ हजार १६४ जना सहभागी हुने बताए। भेलामा ३४६ जना केन्द्रीय सदस्य, केन्द्रीय निकायबाट ८१ जना तथा आठ प्रदेश कमिटी, भारत प्रवास र प्रवासी नेपाली मञ्चबाट ५५ जना सहभागी हुनेछन्। जिल्ला तहबाट ४४० जना र पालिका कमिटीका अध्यक्ष तथा पदाधिकारीमध्येबाट १ हजार ५०६ जनाको सहभागिता रहने उनको भनाइ छ। त्यस्तै, संघीय संसद् तथा राष्ट्रिय सभाबाट ३५ जना, प्रदेशसभा सदस्य १५५ जना, स्थानीय तहका प्रमुख तथा अध्यक्ष १९६ जना, उपप्रमुख तथा उपाध्यक्ष ३४२ जना र जनसंगठनबाट ९६ जना सहभागी हुने एमालेले जनाएको छ। नेकपा एमालेले राष्ट्रिय भेलाको तयारीलाई तीव्र पारेको छ।