​नेपालको कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक क्रान्तिमा नेकपा (एमाले) ले जनताको बहुदलीय जनवाद (जबज) को सैद्धान्तिक मार्गदर्शनमा अनेकौँ ऐतिहासिक मोडहरूको नेतृत्व गरेको छ। एमाले अध्यक्ष क. केपी शर्मा ओलीको राजकीय नेतृत्व राष्ट्रियता, स्वाभिमान, पूर्वाधार विकास र सीमा रक्षाका हिसाबले अत्यन्तै सफल र ऐतिहासिक रह्यो, यसमा कसैको दुई मत छैन। तर, राजकीय क्षेत्रमा जति नै अभूतपूर्व सफलता मिले पनि पार्टी सञ्चालन र आन्तरिक व्यवस्थापनको पाटोमा भने गम्भीर संकट उत्पन्न भएको छ। यो प्रवृत्ति केवल क. केपी शर्मा ओलीमा मात्र सीमित छैन, पार्टीका प्रायः सबै शीर्ष नेताहरूमा उत्तिकै मौलाएको छ। शीर्ष नेतृत्वमै आफैँ गुटबन्दी गर्ने, आफूलाई चाकडी र चापलूसी गर्नेलाई मात्रै लाभका पद बाँड्ने र फरक मत वा आलोचना गर्ने निष्ठावान् नेता-कार्यकर्तालाई राजनीतिक रूपमै सिध्याउने प्रवृत्ति झाङ्गिँदै गयो। माथिल्लो तहको यही गलत शैलीको सिको गर्दै केन्द्रदेखि प्रदेश, जिल्ला र पालिकासम्मका नेताहरूले पनि त्यही गुटगत हालीमुहाली दोहोर्याए, जसले गर्दा आज सिङ्गो पार्टी पङ्क्ति विभाजित र शिथिल बन्न पुगेको छ। ​गत मङ्सिरको महाधिवेशनले शीर्ष नेतृत्व त चयन गर्‍यो, तर पार्टीको मूल संरचना, सोच र कार्यशैली भने जनता र तल्लो तहका निष्ठावान् कार्यकर्ताको भावनाभन्दा निकै टाढा पुगेको छ। पार्टीका अधिकांश उपल्लो तहका नेताहरू काठमाडौँका महलहरूमा सीमित बनेका छन्। प्रदेश, जिल्ला वा पालिकामा प्रशिक्षणका नाममा आउँदा पनि उहाँहरूलाई सुकिला-मुकिला भएर जहाजको दोहोरो टिकट र महँगा होटलको व्यवस्था अनिवार्य चाहिन्छ। मञ्चमा उभिएर घण्टौँ भाषण ठोक्ने र तल्लो तहमा रातदिन खट्ने कार्यकर्तालाई टुलुटुलु सुन्न बाध्य पार्दै आफूलाई 'हुकुमी मुखिया' ठानेर व्यवहार गर्ने प्रवृत्तिले पार्टीलाई कार्यकर्ताबाट अलग्ग्याएको छ। अझ विडम्बना त के छ भने, पार्टीको नेतृत्वमा रहेका धेरैजसो नेताहरूको आफ्नै घरको युवापुस्ता अर्कै पार्टीको गुनगान गाइरहेको हुन्छ। बा-आमा, दाजुभाइ, परिवार र टोल-छिमेकसँग असल सम्बन्ध र राम्रो छवि बनाउन नसक्ने, गाउँमा सामान्य सामाजिक मर्यादा जोगाउन नसक्नेहरू नै पार्टीका हर्ताकर्ता बनेका छन्। ​आफ्नो आम्दानीको कुनै स्पष्ट स्रोत नभएका र पूर्ण रूपमा पार्टीमै आश्रित हुने पद र पावर पाएपछि धन्दा चलाउने  प्रवृत्तिका कारण पार्टीको साख थप खस्कँदै गएको छ। अझै त्यति मात्रै कहाँ हो र ? सरकार र सत्तामा हुँदा तल्लो तहका कार्यकर्तालाई घिनलाग्दो र अपमानजनक व्यवहार गर्ने, विकासको बजेट आफ्ना मान्छे र अनुकूल ठाउँमा मात्र खन्याउने, अनि सत्ताबाट बाहिरिएपछि मात्रै हतार-हतार कार्यकर्ता खोज्न हिँड्ने दोहोरो चरित्र उदाङ्गो भएको छ। लाभका पदहरूमा एउटै व्यक्ति पटक-पटक दोहोरिने तर गाउँ-ठाउँमा कुनै नयाँ र सम्भावना बोकेको युवा नेता अगाडि बढ्न खोज्यो भने उसलाई कोपिलामै निमोठ्ने खेल भइरहेको छ। स्कुल-क्याम्पसमा अनेरास्ववियुलाई जोड्ने, नयाँ पुस्तालाई आकर्षित गर्ने र पार्टीलाई आधुनिक प्रविधिमैत्री बनाउने कुरामा नेतृत्व पूर्ण रूपमा चुकेको छ। ​गुटबन्दी र घेराबन्दी गरेर केन्द्र, प्रदेश, जिल्ला र पालिका कमिटीका अधिवेशनहरूबाट चुनिएर आएको अहिलेको जुन नेतृत्व छ, त्यो विचार र सोचका हिसाबले कहिल्यै फराकिलो हुन सकेकै छैन। गुटगत सङ्कीर्णता यतिसम्म गिरेको छ कि कार्यक्रमहरूमा सँगै बसेर खिचेको फोटो समेत सामाजिक सञ्जालमा पोस्ट गर्दा सम्पादन (Edit) गरी काटेर आफ्ना मन परेका गुटका मान्छेहरूको मात्रै फोटो पोस्ट गर्ने सम्मको दरिद्रता देखाइन्छ। कमिटीको मर्यादा, नेताहरूको त्याग, योगदान र वरिष्ठताको रोलक्रमको न्यूनतम ख्यालै नगरी केवल आफ्नो गुटगत स्वार्थ र अनुकूलताका आधारमा आसनग्रहण र मञ्चको व्यवस्थापन तलमाथि पारिन्छ। ​अर्कोतर्फ, २०८२ भदौ २३ र २४ गतेका घटनाक्रमहरूले देशको राजनीतिमा एउटा डरलाग्दो र प्रायोजित षड्यन्त्रको रूप देखाएका छन्। भदौ २३ गतेको आन्दोलन र त्यसपछिको असन्तोषको आडमा भदौ २४ गते योजनाबद्ध रूपमा रोजि-रोजि पार्टी कार्यालयहरू र नेताका घरहरू जलाउने काम गरियो। एकातिर षड्यन्त्रपूर्वक केही नेताहरूलाई भगाउने, केही नेताहरूलाई कुट्ने-कुटाउने र कसैलाई प्रधानमन्त्री पद नै बाँड्ने खेल खेलियो भने अर्कोतिर आफू प्रधानमन्त्री बन्न पाउने भएपछि आन्दोलनका नाममा भएका सबै आपराधिक र उच्छृङ्खल गतिविधिहरूलाई सुटुक्क माफ दिने गम्भीर डिजाइन रचियो। यस्ता बाह्य र आन्तरिक षड्यन्त्रहरूलाई समयमै चिरेर प्रतिवाद गर्नुपर्नेमा एमालेको आन्तरिक गुटबन्दी र कमजोर सङ्गठनका कारण पार्टी रक्षात्मक बन्न पुग्यो, जसको प्रत्यक्ष असर फागुन २१ को निर्वाचन परिणाममा समेत देखियो। ​अब एमालेलाई पुरानै ढर्रा र गफबाट पुनर्जाग्रित गर्न असम्भव छ। फागुन २१ को चुनावी सन्देशलाई मनन गर्दै नेकपा (एमाले) लाई साँचो अर्थमा रूपान्तरण गर्ने हो भने अब क. केपी शर्मा ओलीसहित शीर्ष नेतृत्वले दोस्रो तथा नयाँ पुस्तालाई सहर्ष नेतृत्व हस्तान्तरण गर्ने हिम्मत देखाउनैपर्छ। यसका लागि पार्टीले अविलम्ब 'नीति महाधिवेशन' आयोजना गरी नयाँ नीति, विधि र साङ्गठनिक ढाँचा तय गर्नु अनिवार्य भइसकेको छ। भद्दा र भर्तीकेन्द्र जस्ता कमिटीहरू खारेज गरी केन्द्रदेखि पालिकासम्म साना, चुस्त, छरितो र पूर्ण कार्यकारी क्षमता भएका कमिटीहरू निर्माण गरिनुपर्छ। राज्यको सङ्घीय संरचना अनुकूलका कमिटीहरूलाई अधिकारसम्पन्न र कार्यकारी बनाई स्थानीय तहबाटै निर्णय लिन सक्ने सामर्थ्य दिनुपर्छ। नीति महाधिवेशनले तय गरेको स्पष्ट विधि र मापदण्डका आधारमा मात्र केन्द्रदेखि पालिकासम्म नयाँ र सक्षम नेतृत्व चयन हुनुपर्छ, जहाँ गुटको होइन, निष्ठा, योगदान र क्षमताको पारदर्शी मूल्याङ्कन होस्। साथै, ​शीर्ष नेतृत्व तथा नेताहरुले सुकिला-मुकिला बनेर महँगा होटलमा बस्ने शैली त्यागी गाउँ-बस्तीमा पुगी जनताका सुख-दुःखमा जोडिनुपर्छ र पार्टीलाई पूर्ण रूपमा आधुनिक एवं प्रविधिमैत्री बनाउनुपर्छ।