एमाले चुनावी रणनीति बनाउन जुट्यो, मंसिर ४ मा जनप्रतिनिधिको भेला । राष्ट्रिय भेलालगत्तै जनप्रतिनिधिसँग परामर्श, ५ गते केन्द्रीय कमिटी बैठक काठमाडौं । नेकपा एमालेले मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय कार्यकर्ता भेलालगत्तै स्थानीय तहका जनप्रतिनिधिको भेला गर्ने भएको छ। एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार मंसिर ४ गते जनप्रतिनिधि भेला आयोजना गरिनेछ। भेला ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुनेछ। आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै पार्टी नेतृत्वले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिसँग आवश्यक परामर्श र छलफल गर्न भेला आयोजना गर्न लागेको आचार्यले जानकारी दिए। जनप्रतिनिधि भेलापछि मंसिर ५ गते एमाले केन्द्रीय कमिटीको बैठक बस्ने कार्यक्रम तय भएको छ। उक्त बैठकमा पार्टीको आगामी कार्ययोजना, संगठनात्मक जिम्मेवारी तथा कार्यविभाजनलगायत विषयमा छलफल हुने बताइएको छ। राष्ट्रिय कार्यकर्ता भेला, जनप्रतिनिधि भेला र केन्द्रीय कमिटी बैठकलाई एमालेले आगामी राजनीतिक तथा संगठनात्मक रणनीति तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ।