पार्टी नबदल्ने, भोट बदल्ने कुरा एमालेमा सुहाउँदैन : ओली
👤 सनस्टार संवाददाता |

पार्टी नबदल्ने, भोट बदल्ने कुरा एमालेमा सुहाउँदैन : ओली
काठमाडौं, कात्तिक २९ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा रहेर आफ्नै पार्टीका उम्मेदवारलाई मत नदिने प्रवृत्तिलाई बेइमानीको संज्ञा दिएका छन्।
शनिबार नेकपा (एमाले) बागमती प्रदेश सङ्गठन कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टी नछाड्ने तर निर्वाचनमा अर्को दलका उम्मेदवारलाई मत दिने प्रवृत्ति स्वीकार्य नहुने बताएका हुन्।
‘पार्टीमा बस्ने भए पार्टीको पक्षमा उभिनुपर्छ। पार्टी बदल्दिनँ, भोट बदल्छु भन्ने बेइमान कुरा एमाले भएर सुहाउँदैन। भोट बदल्नुभन्दा पहिले पार्टी बदल्नु राम्रो हो,’ ओलीले भने।
उनले पार्टीको जिम्मेवारीमा बसेर आफ्नै पार्टीविरुद्ध गतिविधि गर्ने नेता तथा कार्यकर्तामाथि तत्काल कारबाही गर्न निर्देशनसमेत दिए। जिल्ला तहबाटै स्पष्टीकरण सोध्ने, छानबिन गर्ने र दोषी पाइए कारबाही गरी केन्द्रमा जानकारी पठाउन उनले आग्रह गरे।
ओलीले गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा एमालेका संगठित सदस्यको संख्याभन्दा कम मत प्राप्त भएको विषयमा असन्तुष्टि व्यक्त गर्दै पार्टीभित्रको आपसी द्वेष, असमझदारी र बेइमानीलाई पराजयको कारणका रूपमा औँल्याए।
उनले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै पार्टीका नेता तथा कार्यकर्तालाई संगठन विस्तार र जनतामाझ पुग्ने अभियानमा सक्रिय हुन निर्देशन दिए।
पार्टीलाई एकताबद्ध, अनुशासित र व्यवस्थित बनाएर अघि बढ्नुपर्नेमा जोड दिँदै ओलीले आफ्नो स्वार्थ पूरा नभए पार्टीलाई नै असहयोग गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताए।
बैठकमा ओलीले सरकारका गतिविधिविरुद्ध राजनीतिक आन्दोलनका लागि तयार रहनसमेत नेता तथा कार्यकर्तालाई आह्वान गरेका थिए ।