करिब ९० करोड कित्ता सेयर डिम्याटमा आएनन्, ४.३५ प्रतिशत अझै भौतिक रुपमै।
👤 सनस्टार संवाददाता |

**काठमाडौं** । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत करिब ९० करोड कित्ता सेयर अझै डिम्याट खातामा अद्यावधिक हुन सकेका छैनन्। पुराना सेयरधनी तथा जलविद्युत आयोजनाका स्थानीय लगानीकर्ताले खरिद गरेका ठूलो परिमाणका सेयर अझै भौतिक स्वरूपमै रहेको पाइएको हो।
सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का अनुसार नेप्सेमा हाल २० अर्ब ४३ करोड ५५ लाख कित्ता सेयर सूचीकृत छन्। त्यसमध्ये १९ अर्ब ५४ करोड ५३ लाख ८१ हजार कित्ता डिम्याट खातामा अद्यावधिक भएका छन् भने ८९ करोड २ लाख कित्ता अर्थात् ४.३५ प्रतिशत सेयर अझै डिम्याट प्रणालीमा आएका छैनन्।
सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार डिम्याट नभएका सेयरमध्ये अधिकांश पुराना भौतिक सेयर हुन्। सेयर प्रमाणपत्र हराउनु, नामसारी नहुनु, ठेगाना परिवर्तन हुनु वा लगानीकर्ताले डिम्याट नगर्नुजस्ता कारणले सेयर अद्यावधिक हुन नसकेको हुन सक्ने उनले बताए।
डिम्याट अद्यावधिक नहुँदा कतिपय लगानीकर्ताले वर्षौंदेखि आफ्नो हकको लाभांशसमेत प्राप्त गर्न सकेका छैनन्। कम्पनीहरूले नबुझेको लाभांश वितरणका लागि पटक–पटक सूचना जारी गर्दै डिम्याट खाता तथा बैंक खाता अद्यावधिक गर्न आग्रह गर्दै आएका छन्।
बजार जानकारहरूका अनुसार सक्रिय लगानीकर्ताले अधिकांश सेयर डिम्याट गरिसकेका छन्। तर लामो समयदेखि बजारबाट बाहिरिएका, पुराना सेयर बिर्सिएका तथा आयोजना प्रभावित क्षेत्रका स्थानीय लगानीकर्ताको सेयर ठूलो संख्यामा अझै भौतिक अवस्थामै रहेको छ।
सेयर बजारका जानकार रविन्द्र भट्टराईले लगानीकर्तालाई आफूले विगतमा लगानी गरेका कम्पनीको विवरण खोजी गरी ‘अनक्लेम्ड डिभिडेन्ड’ सम्बन्धी सूचना हेर्न सुझाव दिएका छन्। आफ्नो नाम भेटिएमा सम्बन्धित कम्पनी वा सेयर रजिस्ट्रारसँग सम्पर्क गरी आवश्यक कागजात बुझाएर रोकिएको लाभांश लिन सकिने उनले बताएका छन्।
विशेषगरी परिवारका सदस्य, बुबाआमा वा श्रीमान्–श्रीमतीका नाममा रहेका पुराना सेयरसमेत खोजी गर्न जानकारहरूले आग्रह गरेका छन्। पुरानो भौतिक सेयर डिम्याट गरी विवरण अद्यावधिक गरेमा लामो समयदेखि रोकिएको लाभांश प्राप्त गर्ने बाटो खुल्नेछ।