धेरैजसो 'दशैँका सामान रसुवामा बगे', बाँकी सामान 'कोरलामा अड्किए'
👤 सनस्टार संवाददाता |

**१३ असोज २०८३**
काठमाडौ ,नजिक आउन लागेका दशैँतिहारसहितका चाडबाडका लागि चीनबाट रसुवाको टिमुरे आइपुगेका कपडा गएको भदौ १० गते भोटेकोशी-त्रिशूली बाढीमा परेपछि केरुङमै बाँकी रहेका कारण बचेका थोरै सामान व्यवसायी भक्त पराजुलीले कोरला नाकातर्फ पठाएका थिए।
काठमाण्डूबाट करिब चार घण्टामा पुग्न सकिने १०० किलोमिटर मात्रै टाढाको तातोपानी नाका चीनबाट राजधानीसम्म सामान ल्याउन सबैभन्दा छोटो बाटो हो।
तर चीनले सिन्धुपाल्चोकको तातोपानीको सट्टा मुस्ताङको कोरला नाका प्रयोग गर्न भनेपछि नेपालमा आयात हुने सरसामान उक्त बाटो हुँदै आउन थालेको एक महिनामै यो नाकासम्मको बाटो कैयौँ ठाउँमा पहिरो र कटानमा परेको छ। अधिकारीहरूले यो बाटो खोल्न कम्तीमा १० दिन लाग्ने आकलन गरेका छन्।
**कोरला नाक सम्मको बाटो बन्न कति दिन लाग्ला?**
मुस्ताङकी प्रमुख जिल्ला अधिकारी अजिता शर्माका अनुसार जोमसोमबाट कोरलासम्म केही ठाउँमा र लेतेबाट म्याग्दीसम्म पनि कैयौँ ठाउँमा पहिरोका कारण सडक अवरुद्ध छ। ठाउँठाउँमा सडक अवरुद्ध हुँदा मुस्ताङ सदरमुकाम नै राष्ट्रिय सडक सञ्जालबाट टुटेको उनले बताइन्।
"अहिले म्याग्दीसम्म पनि पुग्ने बाटो छैन। गलेश्वर मन्दिरनजिकै राहुघाटमा र तातोपानीमा सडक नै बगाएको छ," शर्माले टेलिफोनमा भनिन्। सडक डिभिजन कार्यालय पोखराका प्रमुख कृष्णराज अधिकारीका अनुसार कोरला नाकासम्म सडक खुलाउन अझै दुई सातासम्म लाग्न सक्छ।
"हामी म्याग्दीसम्मको सडक चाहिँ आजभोलि नै खुलाउँछौँ। त्यहाँभन्दा उता कोरलासम्मको सडक खुलाउन चाहिँ १०-१५ दिन लाग्न सक्छ," अधिकारीले भने। दशैँको घटस्थापना सुरु हुन अबको दुई साताभन्दा पनि कम समय बाँकी रहँदा कोरला नाकासम्मको सडक अवरोधले दशैँका लागि चीनबाट लत्ताकपडासहितका सामान मगाएका व्यापारीहरूलाई चिन्तित तुल्याएको छ।
"दशैँका लागि सामान ल्याउन वित्तीय संस्था र सहकारीबाट ऋण काढेर मगाएको सामान बाढीमा पर्यो। बचेको सामान पनि दशैँ अघि दिन सकिएन," व्यवसायी पराजुलीले भने। उनका अनुसार बजारमा अहिले नै चिनियाँ सामानको अभाव देखिन थालेको छ।
वाणिज्य मन्त्रालयका प्रवक्ता बस्नेतले सडकहरू मर्मत गरेर सकेसम्म छिटो नाका खुलाउन सरकारले पहल गरिरहेको बताए। "अर्को विकल्प भनेको सामुद्रिक बाटोबाट सामान ल्याउने हो। तर चाडपर्व एकदम नजिकिँदै गरेका कारण समयलगायतका कारणले आयातकर्ताहरू पनि समस्यामा हुनुहुन्छ," बस्नेत भन्छन्।
तातोपानी र रसुवागढी दुवै नाका बन्द भएपछि कोरला नाका प्रभावकारी सञ्चालनका लागि पहिले भएकोभन्दा पाँच गुणा बढी जनशक्ति पठाइएको यसअघि अधिकारीहरूले बताएका थिए।
जोमसोमबाट कालीगण्डकी नदीको किनारैकिनार ११६ किलोमिटरको यात्रा गरेपछि समुद्र सतहबाट ४,६०० मिटरको उचाइमा रहेको कोरला नाका पुगिन्छ। यसअघि वर्षमा दुई पटक मात्रै व्यापारिक मेलाका लागि खुला गरिने यो नाका तीन वर्षअघिबाट बाह्रै महिना खोलिए पनि हिउँ परेको समयमा यो बाटोबाट सवारी आवागमनमा समस्या हुने गरेको व्यवसायीहरूले बताएका छन्।
विसं २०७२ मा भूकम्पले क्षति पुर्याएर लामो समय रोकिएर पुनः सुरु भए तापनि तातोपानी नाका अझै पहिलेको स्वरूपमा फर्कन सकेको छैन।