कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन असोज १८ गते खुलामञ्चमा
👤 सनस्टार संवाददाता |

कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन असोज १८ गते खुलामञ्चमा
काठमाडौँ —
करिब ७ हजार महाधिवेशन प्रतिनिधि सहभागी हुने नेपाली कांग्रेसको १५औं महाधिवेशन १८ असोजमा काठमाडौंको खुलामञ्चमा उद्घाटन हुँदै छ ।
काठमाडौं आउने महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता १६ असोजदेखि सुरु हुनेछ । १९ र २० असोजमा बन्दसत्र तथा २१ र २२ असोजमा निर्वाचन गर्ने गरी महाधिवेशनको नयाँ कार्यतालिका अघि बढाइने भएको छ। यसअघि १६ असोजबाट महाधिवेशन सुरु गर्ने तयारी भए पनि दुई दिन सारिएको हो।
महाधिवेशनको उद्घाटन र बन्दसत्र दुवै खुलामञ्चमै गर्ने तयारी छ। करिब ७ हजार प्रतिनिधि सहभागी हुने भएकाले त्यहाँ कम्तीमा तीनवटा ‘बक्स’ बनाइनेछ। एउटा बक्समा करिब ३ हजार प्रतिनिधि अट्ने गरी संरचना तयार गरिनेछ।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार १९ र २० असोजमा हुने बन्दसत्रमा सात प्रदेशका छुट्टाछुट्टै समूह बनाएर विभिन्न प्रस्ताव तथा दस्ताबेजमाथि छलफल गराउने तयारी छ। दुई दिनको बन्दसत्रमा राजनीतिक, सांगठनिक, समसामयिक तथा नीतिगत विषयका प्रस्तावमाथि प्रदेशगत समूहमा छलफल हुनेछ।
बन्दसत्रपछि २१ र २२ असोजमा निर्वाचन गर्ने कार्यक्रम छ। त्यसका लागि पदाधिकारी तथा केन्द्रीय सदस्यका उम्मेदवारको उम्मेदवारी दर्ता, मतदान र मतगणनासहित निर्वाचन प्रक्रिया अघि बढाइनेछ।